stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

लोकमार्गको काम अलपत्र

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ अक्षते–घोडाबाँधे खण्ड कालोपत्रे जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन हुँदा लोकमार्गको काम ठप्प भएको छ ।

निर्माण जिम्मा लिएको श्रेष्ठ निर्माण तथा ढुवानी सेवाका प्रमुख रामकाजी श्रेष्ठ करिब एक महिनादेखि सम्पर्कविहीन हुँदा करिब १२ किलोमिटर सडकको काम अलपत्र परेको हो । आर्थिक वर्ष २०७२/०७३ मा यस सडक कालोपत्रेका लागि सूर्य कन्ट्रक्सनले जिम्मा लिएको थियो । तर पछि त्यस कम्पनीबाट श्रेष्ठ निर्माण कम्पनीका श्रेष्ठले कालोपत्रे गर्ने जिम्मा लिनुभयो तर उहाँले अहिलेसम्म आधा काम पनि पूरा गर्न सक्नुभएको छैन ।

सडक कालोपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले स्थानीय आजित भएका छन् । बागलुङवासीको लाइफलाइनका रुपमा रहेको लोकमार्गको ट्रयाक खुलेको २५ वर्ष भयो । सडक कालोपत्रेका लागि निर्माण कम्पनीसँग सम्झौता भएको पनि एक दशक पुग्नै लाग्यो । अहिले सडकको अवस्था बेहाल छ ।

सडकको धुलो र हिलोले गर्दा स्थानीय बसाइँसराइ गर्न बाध्य भएको स्थानीय हरिलाल कँडेलले बताउनुभयो । उहाँले सडक छेउका घर हिउँदमा धुलो र बर्खामा हिलोले पुरिने गरेको बताउनुहुन्छ । धुलोका कारण स्थानीयको उठीबास लागेको उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “बिहुँ सुन्तला पकेट क्षेत्र हो, यो सडकका कारण सुन्तला राम्रोसँग उत्पादन हुन पाएका छैनन्, अहिले पनि बोटमा फलेका फल सबै धुलोले ढाकिएका छन्, यस्तो सुन्तला बजार लगेर पनि बिक्री हुँदैनन्, यहाँका किसान धेरै मर्कामा परेका छन्, सडकका छेउमा भएका घाँसपात पनि धुलैधुलो र हिलैहिलो हुँदे गर्दा पशु चौपायले पनि खाँदैनन्, यहाँका सयौँ स्थानीय घरबारी छोडेर अन्तै जान बाध्य भएका छन् ।”

मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे सडक कालोपत्रे गर्ने आयोजना सुरु भएपछि धेरै पटक निर्माण कम्पनीले म्याद थप्यो तर काम भने गरेन । अहिले ठेकेदार भागे पछि लोकमार्गको काम ठप्प भएको छ । लोकमार्गको बागलुङ–अक्षते खण्डमा काम भए पनि अक्षते–घोडाबाँधे खण्डमा भने काम हुन सकेको छैन ।

उहाँले ठेकेरादलाई राज्यले कारबाही नगर्दा अहिलेसम्म सडक कालोपत्रे हुन नसकेको बताउनुभयो । कँडेलले अटेरी गर्ने ठेकेदारलाई कारबाही गरेर नयाँ सम्झौता गरी काम गरेको भए दुई वर्ष अगाडिनै कालोपत्रे भइसक्ने बताउनुहुन्छ । सरोकारवाला निकाय यसतर्फ गम्भीर भएर नलागेसम्म यस सडकको अवस्था यस्तै रही रहने र स्थानीय वर्षौं हिलो धुलोमै बस्नुपर्ने बताउनुहुन्छ ।

काठेखोला गाउँपालिका–५ का पूर्वअध्यक्ष शिवप्रसाद कँडेलले एक महिनादेखि ठेकेदार हराउँदा लोकमार्गको काम ठप्प भएको बताउनुहुन्छ । उहाँले आफूहरुले पटक–पटक सडकको काम सक्न आग्रह गरे पनि बेलाबेलामा सम्पर्कविहीन हुने गरेको बताउनुहुन्छ । स्थानीयले धेरै पटक सडकमै धर्ना दिए पनि ठेकेदारले बेवास्ता गरेको उहाँको भनाइ छ ।

“हामीहरुले सडक कालोपत्रेका लागि पटक–पटक प्रशासन र लोकमार्ग कार्यालय र ठेकेदारलाई आग्रह गर्यौँ, सडकको कारण सिङ्गो समुदायनै विस्थापित हुने अवस्था आयो, तर कतैबाट पनि यसको सुनुवाइ हुन सकेन”, सथानीय कँडेलले भन्नुभयो, “ठेकेदार बेलाबेलामा आएर स्थानीयको आँखामा छारो हाल्ने काम गर्छ, अहिले १५/२० दिन भयो सम्पर्कविहीन बनेको छ, यसको अवस्था यस्तो विजोग छ ।”

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले लोकमार्ग वर्षौंदेखि स्थानीयको समस्या बनिरहेको बताउनुभयो । उहाँ आफूहरु जनप्रतिनिधि भएर पालिकामा आएपछि ठेकेदार र प्रशासनलाई झकझकाउने काम गरिरहेको बताउनुभयो । अध्यक्ष थापाले तल्लोभन्दा माथिल्लो खण्डमा काम निकै सुस्त गतिमा भएको भन्दै कामलाई चुस्त बनाउन दबब दिइराखेको बताउनुहुन्छ ।

अध्यक्ष थापा भन्नुहुन्छ, “यो सडकको जिम्मा लिएको रामकाजी श्रेष्ठ हुनुहुँदोरहेछ, मैले उहाँलाई र लोकमार्ग कार्यालयका प्रमुख नारायण भण्डारीलाई पटक–पटक कालोपत्रेका लागि भेटेरै कुरा गरेको छु, उहाँहरुले गर्छौं भनेर आश्वासन दिनुहुन्छ तर काम गर्नुहुन्न, तल्लो खण्ड त यो वर्ष सकिन्छजस्तो देखिन्छ तर माथिल्लो खण्ड गाह्रो देखिन्छ, अहिले ठेकेदारनै भागेको भन्ने हल्ला आएको छ ।”

मध्य पहाडी लोकमार्ग कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले बागलुङमा पर्ने सबै खण्ड आगामी असार मसान्तसम्म सक्ने दाबी गनुहुन्छ ।

उहाँले अब बागलुङमा १२ किलोमिटर सडक कालोपत्रे गर्न र केही स्थानमा मर्मतसम्भार गर्ने काम बाँकी रहेको भन्दै निर्माण कम्पनीलाई दबाब दिएको बताउनुहुन्छ । प्रमुख भण्डारीले ठेकेदार कम्पनीलाई कारबाहीका लागि तयार भएको बेला सरकारले असार मसान्तसम्म म्याद थप गरी दिएको हुँदा प्रक्रिया अगाडि सार्न नसकेको बताउनुहुन्छ ।

“अब बागलुङ लोकमार्ग कालोपत्र हुन करिब करिब अन्तिम चरणमा छ, असार मसान्तसम्म सबै खण्ड कालोपत्रे हुन्छन्, अहिले बिहुँखण्डमा काम भएको छैन, त्यसलाई पनि दबाब दिने काम भएको छ, यतिका वर्षसम्म काम पूरा नगर्दा कारबाही गर्ने भनेका थियो, सरकारले म्याद थप गरेको हुँदा गर्न सकिएन”, उहाँले भन्नुभयो, “जहाँसम्म हामीलाई लाग्छ, असार मसान्तसम्म काम सक्दा यदि सकेन भने कारबाहीको प्रक्रिया अगाडि बढाउँछौँ ।”

लोकमार्गको कूल एक हजार सात सय ७६ किलोमिटरमध्ये बागलुङ खण्डमा मात्रै एक सय ४२ किलोमिटर पर्छ । जसमध्ये अब १२ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ ।

बाँकी १२ किलोमिटर सडक पनि आगामी असार मसान्तसम्म जसरी पनि सक्ने लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

prabhu mahalaxmi
kumari