बढी मूल्य लिने र दोहोरो बिल जारी गर्ने चार पसललाई कारबाही
आर्थिक सञ्जाल २०७७ वैशाख २६ गते शुक्रबार
काठमाडौँ । दोहोरो बिल जारी गरेबापत दुई बिक्रेतालाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा खाद्य पदार्थलाई बढी मूल्यमा बिक्री वितरण गरेको र दोहोरो बिल जारी गरेको भेटिएपछि कारवाही स्वरुप जरिवाना गरिएको जनाइएको छ ।
माकलबारीस्थित राजभण्डारी स्टोर्स र अम्बे ट्रेड सप्लायर्सलाई रु तीन तीन लाखका दरले जरिवाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए । उनका अनुसार दुवै पसलमा प्यान र भ्याट बिल हुँदा पनि साधा बिल जारी गरिएको भेटिएपछि जरिवाना गरिएको हो ।
त्यसै गरी दर्ता नगरी मार्ट सञ्चालन गरेको भेटिएपछि शंखमूलस्थित बेष्ट किनमेल मार्टलाई पनि रु ५० हजार जरिवाना गरिएको छ । त्यस्तै आज नै बालाजुस्थित भ्याली कोल्ड स्टोर्सले लेबल नराखी मासु बिक्री गरेको भन्दै तीन दिनभित्र आवश्यक कागजपत्र लिएर विभागमा आउन निर्देशन दिइएको उनले जानकारी दिए । रासस

























