stcnepal long ad
ime life insurance
global ime bank long

नयाँ सहर निर्माण थालिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख १७ गते बुधबार

काठमाडौँ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी वर्षको बजेट मार्फत काठमाडौँ उपत्यकाको जनचाप व्यवस्थापन गर्न आसपासका क्षेत्रमा नयाँ सहर निर्माण थालिने बताउनुभएको छ ।
सहरी विकास मन्त्रालयमा मङ्गलबार सांसदसँगको छलफलमा मन्त्री मानन्धरले प्रस्तावित टोखा–छहरे सुरुङमार्गदेखि निर्माणाधीन नागढुङ्गा–नौबिसे सुरुङमार्ग सम्ममा वैकल्पिक चक्रपथ सहितको नयाँ सहर निर्माण गर्न प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।
उहाँले उपत्यकालाई बाहिरी जिल्लाबाट छुने करिब ६५ किलोमिटरको वैकल्पिक चक्रपथ अन्तर्गत छहरे, थानसिंह, ढिकुरे, देवीघाट, महादेवफाँट, गल्छी, नौबिसे लगायतका स्थानमा नयाँ सहर निर्माण गरिनेछ । यस्तै गल्छीदेखि नुवाकोटको चाउथे हुँदै बन्चरेडाँडा–तीनपिप्ले नयाँ सहर निर्माण पनि थाल्ने तयारी मन्त्रालयले गरेको छ भन्नुभयो ।
आगामी आर्थिक वर्षको बजेटमा सुरक्षित आवास कार्यक्रमलाई प्राथमिकतामा राखिने बताउँदै उहाँले आगामी वर्षको बजेट मार्फत कम्तीमा एक लाख परिवारलाई फुस तथा खरको छानाबाट विस्थापन गराई जस्ताको छानामुनि बसाल्ने सरकारको योजना रहेको जानकारी दिनुभयो ।
त्यसैगरी सीमान्तकृत र अति विपन्न परिवारका लागि राज्यले आर्थिक सहायता मार्फत फुस र खरका छाना विस्थापन गराई आधुनिक जस्तापाताका छाना निर्माणमा सहयोग गर्नेगरी बजेट व्यवस्थापन थालिएको उहाँले बताउनुभयो ।
कोरोना महामारीका कारण आगामी आर्थिक वर्षको बजेटमा केही सीमित रहे पनि १६५ वटै निर्वाचन क्षेत्रमा सहरी विकास मन्त्रालय मार्फत कम्तीमा एक नयाँ कार्यक्रम सहित बजेट व्यवस्थापन गरिने जानकारी उहाँले दिनुभयो ।
मन्त्रालयका सचिव मधुसूूदन अधिकारीले केही नयाँ कार्यक्रम सहित नयाँ बजेटको तयारी थालिएको जानकारी दिनुभयो । चालू अवस्थामा रहेका कार्यक्रमको निरन्तरतासँगै वैकल्पिक चक्रपथ सहितको नयाँ सहर आयोजना र कम्तीमा एक लाख परिवारका लागि जस्ताको छानो उपलब्ध गराउने गरी बजेट ल्याउन लागिएको उहाँले बताउनुभयो ।
सो अवसरमा दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, काठमाडौँका सांसद जीवनराम श्रेष्ठ, नुवाकोटका सांसद बहादुरसिंह लामा, बैतडीका सांसद दामोदर भण्डारी, सिन्धुलीका सांसद गणेश पहाडी, नुवाकोटका सांसद नारायण खतिवडा, बाजुराका सांसद लालबहादुर थापा, डोटीका सांसद प्रेम आले र कैलालीका सांसद नारदमुनि राना लगायत सांसदको सहभागिता थियो ।

prabhu mahalaxmi
kumari