गएको बर्षको तुलनामा असोज ५ गतेसम्म २९.८५ प्रतिशत बढी राजस्व असुली
३८ करोड ४२ लाख ७४ लाख ३१५ रुपैयाँ बढी राजस्व संकलन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको गएको आर्थिक बर्षको असोज ५ गतेसम्मको तुलनामा यस आर्थिक बर्षको असोज ५ गतेसम्ममा २९.८५ प्रतिशत बढी राजस्व संकलन भएको छ ।
यस अवधिमा गएको बर्ष १ अर्व २८ करोड ७१ लाख ३२ हजार ६६८ रुपैयाँ संकलन भएको थियो । चालु आर्थिक बर्षको सोही अवधिमा १ अर्व ६७ करोड १४ लाख ६ हजार ९८३ रुपैयाँ राजस्व संकलन भएको छ । यो ३८ करोड ४२ लाख ७४ हजार ३१५ रुपैयाँ बढी हो ।
विगत बर्षहरुमा अटेर गरेर कर नतिर्ने ठूला करदातालाई पत्राचार गरेर कडाई गरेपछि यस बर्ष राजस्व संकलनको मात्रामा वृद्धि भएको हो ।
राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारी भन्नुहुन्छ, ‘गएको बर्षहरुमा पनि पत्राचार भएको हो । तर, करदाताले टेरेका थिएनन् ।’
यस अघि मनोरञ्जन कर तिर्न नमानेका क्यासिनो सञ्चालकहरुलाई पत्राचार गरेपछि चालु आर्थिक बर्षको यस अवधिसम्ममा ८६ लाख ४५ हजार १८९ रुपैयाँ कर तिरेका छन् ।
यसैगरी करको दायरामा आउन नमानेका संघ संस्थाले १ करोड ८० लाख ७३ हजार ३११ रुपैयाँ ६७ पैसा सम्पत्ति कर तिरेका छन् ।
यस्तै बहाल कर बुझाउन आनाकानी गरिरहेका संघ संस्थाहरुबाट ७८ लाख ३६ हजार ४४१ रुपैयाँ ६६ पैसा राजस्व असुली भएको राजस्व विभागका प्रमुख डा. अधिकारीकोे भनाइ छ ।
पत्राचार गरिएकामध्ये व्यवसाय करतर्फ १८ लाख रुपैयाँ कर असुली भएको छ । नियमित करदाताबाहेक कर तिर्न अटेर गर्नेहरुबाट करिब ५० करोड रुपैयाँ राजस्व थप हुने प्रक्षेपण गरिएको छ ।
यसमध्ये विद्युत प्राधिकरणले मात्र २६ करोड १९ लाख रुपैयाँ सम्पत्ति कर तिर्नुपर्छ, डा. अधिकारीको भनाइ छ ।

























