stcnepal long ad
global ime bank long

इन्टरनेट सेवा सञ्चालन गर्न लाइसेन्स लिएका ७२ सेवाप्रदायक के गर्दैछन् ?, १३२ मध्ये ६० मात्रै संचालनमा 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पछिल्ला केही वर्षयता नेपालभर सस्तो, गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा पुर्याउने सरकार लागिपेरेको छ ।

सोहीअनुरुप गत महिना साउन मसान्तसम्म विभिन्न इन्टरनेट सेवा प्रदायकको सहयोगमा देशभर ब्रोडब्यण्ड इन्टरनेट पुर्याएको घोषणासमेत गरिसकिएको छ ।

सरकारले गरेको यस्तो घोषणामा सहयोग पुर्याउन सबैभन्दा ठुलो योगदान इन्टरनेट सेवा प्रदायकको नै मान्न सकिन्छ ।

सरकारले पनि हालसम्म इन्टरनेट सेवा सञ्चालन गर्न चाहेका सबै इन्टरनेट सेवाप्रदायकलाई अनुमतिपत्र वितरण गरिरहेको पनि छ।

देशभर प्रतिस्पर्धी दरमा र सबैसम्म इन्टरनेटको पहुँच पुर्याउनकै लागि गरिएको यो व्यवस्थाको फाईदा उठाउँदै हालसम्म १७४ इन्टरनेट विथ इमेल र ११ ग्रामीण आाईएसपी गरी १८५ सेवा प्रदायकले नेपाल दूरसंचार प्राधिकरणबाट लाइसेन्स लिएका छन् ।

यसमध्ये कसैले ग्रामीण क्षेत्रका निश्चित स्थानमा, कसैले निश्चित शहरमा र कसैले नेपालभर नै इन्टरनेट  सेवा प्रदान गर्ने लाइसेन्स लिएपनि हालसम्म त्यसको प्रभाव भने खास्सै परेको देखिँदैन ।

हुन त दूरसंचार प्राधिकरणको तथ्यांकमा जनसंख्याभन्दा बढी जनतासम्म इन्टरनेटको पहुँच पुगिसकेको उल्लेख छ ।

तर पनि हाल धेरैजसो ग्रामीण क्षेत्रका वासिन्दाले भनेबमोजिम यसको उपयोग गर्न पाएका र सकेका छैनन् । अर्थात, अझै ग्रामिण भेगका नागरिकसम्म यसको पहुँच पुगिसकेको छैन ।

सेवा प्रदायकले अनुमतिपत्र लिने बेलामा तोकिए बमोजिम सेवा प्रदान नगर्दा यसको प्रभावकारिता कम भएको एक इन्टरनेट सेवा प्रदायकका संचालकले बताए ।

उनका अनुसार कुनै सेवाप्रदायकले प्राधिकरणबाट ग्रामीण भेगमा इन्टरनेट पुर्याउने गरी लाइसेन्स त लिन्छ तर, लाइसेन्स लिएबमोजिम काम गरिदिँदैन ।

जसका कारण सरकारलाई पनि उक्त क्षेत्रमा निश्चित कम्पनीले सेवा विस्तार गरिरहेको छ भन्ने हुन्छ, तर, वास्तवमा भनेबमोजिम काम नभएपछि उक्त क्षेत्रका सर्वसाधारणले बर्षौसम्म सेवाको उपभोग गर्न पाउँदैनन् ।

प्राधिकरणको तथ्यांकलाई हेर्दा हालसम्म प्राधिकरणले लाइसेन्स लिने तर तोकिएबमोजिम काम नगर्ने ५३ सेवाप्रदायकको लाइसेन्स नै खारेज गरिसकेको छ ।

हालसम्म इमेलसहितको इन्टरनेट सेवा प्रदान गर्नेगरी १७४ र ग्रामीण आइएसपीका लागि ११ सेवा प्रदायकले लाइसेन्स लिएका थिए । प्राधिकरणले ग्रामिण आईएसपीका ८ र इमेलसहितको इन्टरनेटका ४५ अनुमतिपत्र खारेज गरिसकेको छ ।

प्राधिकरणबाट लाइसेन्स लिने तर भने बमोजिम र तोकेबमोजिम काम नगर्ने सेवाप्रदायकको लाइसेन्स नै खारेज गर्ने गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल बताउँछन् ।

अझै हाल बाँकी रहेका कुल १ सय ३२ इन्टरनेट सेवा प्रदायकमध्ये पनि जम्मा ६० सेवाप्रदायकले मात्रै भनेबमोजिमको सेवा प्रदान गरिरहेका छन् । अर्थात ६० सेवा प्रदायक बाहेक अन्य सेवा प्रदायकहरु कहाँ र के गर्दैछन् भन्नेसम्म जानकारी प्राधिकरणलाई छैन ।

प्राधिकरणको एमआइएस प्रतिवेदनका अनुसार विभिन्न ६० सेवाप्रदायकले २३ हजार ३ सय ८७ जनालाई तार रहित माध्यमबाट, १ लाख ११ हजार ३५ जनालाई केबलको माध्यमबाट र २० लाख २५ हजार ८ सय १६ जनालाई फाइबरबाट गरी २१ लाख ७४ हजार २ सय ६४ जनालाई इन्टरनेट सेवा प्रदान गरिरहेका छन् ।

तर लाइसेन्स लिएर बसेका अन्य ७२ सेवाप्रदायकका ग्राहक भने शुन्य सरह भएकै कारण एमआईएस प्रतिवेदनमा नदेखिएको हुनसक्ने प्राधिकरणका एक अधिकारीले बताए ।

कतिपय सेवाग्राहीहरुले भर्खरै मात्रै लाइसेन्स पाएका छन्, कतिपयले पहिल्यै पाएर पनि विभिन्न कारणले सेवा प्रदान गर्न नसकिरहेका र कतिपयले प्राधिकरणका विवरण नपठाएकाले पनि एमआइएस प्रतिवेदनमा नदेखिएको हुनसक्ने उनको भनाई छ ।

तर, प्राधिकरणको व्यवस्थाअनुसार हरेक सेवाप्रदायकले प्रत्येक महिना प्राधिकरणमा मूल्यसूची, ग्राहकको विवरण लगायत पठाउनुपर्छ ।

तर, केहि इन्टरनेट सेवाप्रदायकले त्यो व्यवस्थाको पनि अवमूल्यन गरिरहेको उनको भनाई थियो । इन्टरनेट सेवाको लाइसेन्स लिनका लागि सानो पुँजी भए पनि हुने हुनाले धेरैजसोले यसको लाइसेन्स लिएर राखेका हुन्छन् तर, भनेबमोजिम उनिहरुले सेवा भने दिन नसकेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल बताउँछन् ।

लाइसेन्स लिएको ५ बर्षसम्म प्राधिकरणले केहि नभनेपनि लाइसेन्स नविकरण गर्ने बेलामा अर्थात ५ बर्ष पछि भने सेवा विस्तार नभएको पाईएमा स्वतः लाइसेन्स खारेज हुने उनको भनाई छ । यसै पक्रियाअनुसार हालसम्म हामीले ५३ सेवाप्रदायकको लाइसेन्स खारेज गरिसकेको उनले बताए ।

लाइसेन्स वितरण नियन्त्रण गर्ने छुट छैन
हालसम्मको कानुनले इन्टरनेट सेवाप्रदायकको लाइसेन्स वितरणमा रोक लगाएको छैन । लगातार लाइसेन्स लिने र सोहीअनुसार काम नभएपनि प्राधिकरणलाई नयाँ लाइसेन्स जारी गरिराख्नुपर्ने बाध्यता छ ।

जति सेवाप्रदायक आएपनि प्राधिकरणले लाइसेन्स दिइराख्ने अध्यक्ष खनाल बताउँछन् । ‘हामीले लाइसेन्स दिन्छौं, तर, वित्तीय र प्राविधिक क्षमता भने तोकिएबमोजिम हुनैपर्छ,’ उनले भने ।

प्राधिकरणले करिव २ बर्षअघि इन्टरनेट सेवाप्रदायक कम्पनीहरु पनि एक आपसका मर्जरमा जान सकिने व्यवस्थासहितको दूरसंचार ऐन २०५३ लाई प्रतिश्थापन गर्नेगरी नयाँ दूरसंचार विधेयकमा प्रस्ताव गरेको थियो ।

तर, हालसम्म पनि उक्त विधेयक पुरानै अवस्थामा छ । विधेयक पारित भएर आएपछि भने दूरसंचार सेवाप्रदायक कम्पनीहरु पनि एकआपसमा गाभिन सक्नेछन् । अनिल न्यौपाने

 

IME Lifesidebar
kumari