stcnepal long ad
ime life insurance
national life
global ime bank long

एसईईका लागि जेठपछि मात्रै विकल्प खोजिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख ११ गते बिहीबार

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमणका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई)को सञ्चालन हालकै विधिबाट गर्न जेठ मसान्तसम्म प्रतीक्षा गरिने भएको छ ।
कोरोनाका कारण जेठभित्र पनि जनजीवन सामान्य हुन नसके विद्यमान परीक्षा प्रणालीमा कानुनी हिसाबले संशोधन गरेर विकल्प खोजी गरिने तयारी पनि गरिएको छ । स्थगित परीक्षाबारे बुधबार राष्ट्रिय परीक्षा बोर्डले सरोकारवालासँग गरेको छलफलमा जेठभित्र परीक्षा लिन सकेको अवस्थामा पनि शैक्षिक सत्रमा कुनै प्रभाव नपारी विद्यार्थीको पठनपाठन अगाडि बढाउन सकिने औँल्याइएको छ ।
बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार सहभागीले पनि हालकै प्रणालीबाट परीक्षा लिन जेठभित्रसम्म कुर्न आग्रह गरेको जानकारी दिनुभयो । जेठमा परीक्षा लिन सकेको अवस्थामा पनि उत्तरपुस्तिका सङ्कलन, परीक्षण, नजिता प्रकाशन लगायतका कामलाई दु्रत गतिमा गरेर विद्यार्थीको शैक्षिक सत्रमा प्रभाव नपार्ने गरी कक्षा ११ मा भर्ना लिन सकिने उहाँको भनाइ छ ।
बोर्डले विगतका वर्षमा साउनबाट मात्रै कक्षा ११ को शैक्षिक सत्र सुरु गर्ने गरेको थियो । यसका साथै भदौमा एसईईको मौका परीक्षा सञ्चालन गरेर ती विद्यार्थीलाई समेत भर्ना गर्दा दशैँको हाराहारी पनि विद्यार्थी कक्षा ११ मा भर्ना हुने गरेका थिए । यस हिसाबले हेर्दा विद्यार्थीको पढाइमा धेरै असर नपारेको परीक्षा नियन्त्रक खकुरेलले स्पष्ट पार्नुभयो ।

सङ्क्रमण लम्बिए विकल्प
कोराना सङ्क्रमण लामो समयसम्म कायम रहेको अवस्थामा माध्यमिक तहको परीक्षा लिने प्रणालीमा नै परिवर्तन गरी विकल्प खोजिने भएको छ । हाल बोर्डले नै एसईईका साथै कक्षा ११ र १२ को वार्षिक परीक्षा लिने कानुनी प्रावधान छ ।
यो प्रावधानलाई परिवर्तन गरेर प्रदेश, जिल्ला या विद्यालय तहलाई नै जिम्मा दिने खालको विकल्प हुन सक्ने जनाइएको छ तर यसबारेमा छलफल मात्रै सुरु गरिएको
बताइएको छ । बोर्डले नयाँ कानुनी प्रावधान परिवर्तन गर्नुपरेको अवस्थामा मन्त्रालयलाई लिखित विकल्प सुझाउने जनाइएको छ ।
छलफलमा सहभागी नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले स्थगित एसईई परीक्षा सञ्चालनका लागि जेठसम्म कुर्न सबैले सुझाव दिएको बताउनुभयो । कक्षा ११ र १२ को परीक्षा भने भदौभित्र हुन सके पनि फरक नपार्ने आकलन गरिएको छ ।
महासङ्घले कक्षा १० को परीक्षा विद्यालयले नै गर्ने गरी जिम्मा दिन तथा शिक्षक, प्रधानाध्यापकलाई विश्वास गर्न सुझाव दिएको छ । यसका साथै परिस्थिति हेरेर हिमाल, पहाड र तराईमा अलग–अलग समयमा परीक्षा गर्ने हिसाबले समेत सोच्नुपर्ने सुझाव महासङ्घको छ । महासङ्घले यसका लागि कानुनी हिसाबले तयारी गर्न समेत केन्द्रलाई सुझाव दिएको छ ।
कोरोना भाइरसको सङ्क्रमण बढ्ने देखिएपछि सरकारले चैत ५ गते एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । चैत ६ गतेबाट एसईई सुरु गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको थियो । यसका साथै वैशाख ८ देखि कक्षा १२ र वैशाख २१ देखि कक्षा ११ को परीक्षा गर्ने तयारीसमेत बोर्डले गरेको थियो ।  आजको गोरखापत्र दैनिकबाट

IME Lifesidebar
kumari