बनेपा–पनौती सडकमा भारमापन
काभ्रे । पनौती नगरपालिकाले बनेपा–पनौती सडक भएर आवात–जावत गर्ने मालवाहक सवारी साधनलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको छ । मालवाहक सवारी साधनका लागि नगरको ५ नं वडास्थित नैकिन्टार सडकमा भारमापन केन्द्र स्थापना गरेको छ ।
जिल्लाका अन्य दुई स्थानमा समेत गत वर्ष २०७८ पुसमा भारमापन केन्द्र स्थापना गरेको थियो । पनौती नगरले भारमापन सेवाका लागि जिम्मेवारी लिएको ग्लोबल मेसिनरी एण्ड टेक्नोलोजी सर्भिसेज प्रा.लि.लाई हाल भरमापन गर्न/गराउन समेत आग्रह गरेको छ ।
भारवहन नियमन सम्बन्धी निर्देशिका, २०७४ (संशोधन सहित) को व्यवस्था, यातायात विभागको पत्र र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा गत वर्ष २०७८ फागुनमा जारी पत्रानुसार स्थानीय तहले हालैमात्रै भारमापन कार्यलाई कडाइ गरेको छ । सोही निर्देशिका अनुसार विभागको अनुमतिमा जिल्लामा तौलपुल सञ्चालनमा ल्याइएको थियो ।
दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षाका लागि मालवाहक सवारी साधनमा भारमापनमा कडाइ गर्नुपरेको पनौती नगरपालिकाका प्रमुख प्रशासकीय प्रदीप पौडेलले बताएका छन । गत वर्ष पुसमा काभ्रेपलाञ्चोकको तीन स्थानमा तौलपुल सञ्चालनमा ल्याइएको थियो ।
बनेपा–पनौती सडकको नैकिन्टार, अरनिको राजमार्ग अन्तर्गत पाँचखालस्थित केराघारी र बिपी राजमार्गको नमोबुद्ध नगरस्थित भकुण्डेमा तौलपुल स्थापना गरिएको छ ।
ग्लोबल मेसिनरी एण्ड टेक्नोलोजी सर्भिसेजले पाँचखाल र पनौतीमा तथा कोट कालिका मेसिनरी एण्ड टेक्नोलोजी सर्भिसेजले नमोबुद्धमा तौलपुल सञ्चालन गरेका छन ।
मालवाहक सवारी साधनले इच्छा अनुसार मात्रै भारमापन गर्ने गरेको ग्लोबल मेसिनरी एण्ड टेक्नोलोजी सर्भिसेजका सरोज कुइँकेलले बताएका छन।
उनका अनुसार सबै मालवाहक सवारी साधनले भारमापन गर्ने हो भने सडक सुरक्षामा मद्दत पुग्नेछ । निर्देशिका अनुसार ६ पाङ्ग्राभन्दा माथि क्षमताका मालवाहक सवारी साधनले अनिवार्य भारमापन गर्नुपर्ने हुन्छ ।
तौलपुलमा भारमापन गरे वापत प्रतिसवारी साधनले रू. १५० शुल्क तिर्नु पर्दछ । बनेपा–खोपासी सडक तथा अरनिको र बिपी राजमार्गमा दैनिक करिब दुई हजार मालवाहक सवारी साधन चल्ने गर्छन् ।
मालवाहक सवारी साधनले क्षमताभन्दा बढी भार बोक्दा पक्की सडकमा क्षति पुग्ने गरेको स्थानीय जनताले बताउदै आएका छन ।























