एमडीएमएस लागु गर्न मोबाइल व्यवसायीको सरकारसँग आग्रह
काठमाडौं। लामो समयदेखि बहस भइरहेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु गर्न मोबाइल व्यवसायीहरूले सरकारलाई आग्रह गरेका छन्।
शुक्रबार राजधानीमा आयोजित अन्तक्रिया कार्यक्रममा एमडीएमएस लागु नहुँदा अवैध मोबाइल भित्रिएको भन्दै व्यवसायीहरूले यस्तो आग्रह गरेका हुन्।
नेपाल मोबाइल वितरक संघले आयोजना गरेको कार्यक्रममा सरकारले लामो समयदेखि एमडीएमएस लागु गर्ने भने पनि प्रक्रिया अघि नबढाएको गुनासो व्यवसायीको थियो।
कार्यक्रममा मोबाइल आयात संघका अध्यक्ष दीपक मल्होत्राले सरकारले मोबाइल फोनलाई विलासी वस्तुमा भनिएकोमा आपत्ति जनाए।
उनले सरकारले विदेशी मुद्राको सञ्चितिमा चाप परेको भन्दै महँगो मोबाइल फोनको आयात रोकेकोमा असन्तुष्टि जनाउँदै भने, “मोबाइल फोन गाँस, बास, कपास जस्तै अत्यावश्यक वस्तु हो। महँगो वा सस्तो भनेर रोक्नु हुँदैन।
हामी अन्य लक्जरियस वस्तुमा लगाएको रोकमा कम्प्रमाइन गर्न तयार छौं। तर मोबाइल फोन जनताका लागि अत्यावश्यक वस्तु हो।”
कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव गणेशराज पाण्डेले सरकारले अत्यावश्यक वस्तुको सहजीकरणका लागि महँगा मोबाइल फोनमा रोक लगाएकोमा अन्यथा नलिन आग्रह गरे। उनले एमडीएमएस लागु गर्न सरकार सकारात्मक रहेको बताए।























