ट्याक्सीमा बढेको नयाँ भाडा दर आजदेखि लागू
काठमाडौँ । बागमती प्रदेश सरकारले वैशाख १ गतेदेखि अन्य यातायातको साधनमा बढेको भाडा दर लागू गरे पनि ट्याक्सीमा भने आजदेखि मात्रै लागू गर्न लागेको हो । आज सोमबारदेखि ट्याक्सीमा नयाँ भाडा दर लागू हुँदैछ ।
बागमती प्रदेश सरकारले निर्धारण गरिएको भाडा दर अनुसार ट्याक्सीमा सुरुवाती कलमा ५० रुपैयाँ, प्रति दुई सय मिटरमा १० रुपैयाँ, जाममा रोकिनु पर्दाको प्रतीक्षा शुल्क प्रति १ मिनेटको १ रुपैयाँ २० पैसा र प्रतीक्षा अधिकतम समय ३० मिनेट कायम गरिएको छ ।
आजदेखि प्रतिदिन ६० वटा ट्याक्सीको मिटरमा भाडा समायोजन गरिने गुणस्तर तथा नापतौल विभागले जनाएको छ । सबै ट्याक्सीका मिटरमा भाडा समायोजन गर्न एक महिनाभन्दा बढी लाग्ने विभागले जनाएको छ ।
त्यतिन्जेल सम्म ट्याक्सीमा यात्रुले देख्नेगरी मिटरमा देखिने साविकको भाडा दर र यात्रुले तिर्नुपर्ने नयाँ भाडा दर टाँस्नुपर्ने विभागले जनाएको छ ।

























