मीनभवन सेवा सदन (किरियापुत्री भवन) उद्घाटन : संयुक्त लगानीमा निर्माण सम्पन्न
सुखमा साथ दिने धेरै हुन्छन्, दुःखमा साथ दिने नै सच्चा सहयोगी हो – मेयर शाक्य
काठमाडौँ । संघ, प्रदेश, स्थानीय तह र स्थानीयबासीको संयुक्त लगानीमा सामुदायिक भवन निर्माण भएको छ । काठमाडौँ महानगरपालिका वडा ३१ मीनभवन मार्गमा निर्माण भएको भवन महानगरका मेयर विद्यासुन्दर शाक्य, प्रदेश सभा सदस्य गणेश दुलाल, वडाध्यक्ष नारायण भण्डारीसहित अधिकारीहरुले उद्घाटन गर्नुभएको हो । १३ आना जग्गाभित्रको करिव ५ आना जमिनमा ३ तले भवन निर्माण भएको छ ।
भवन निर्माणका लागि संघीय संसद सदस्य प्रकाशमान सिंह, प्रदेश सभा सदस्य गणेश दुलाल, पूर्व संसद सदस्य राधेश्याम अधिकारी, संविधान सभा सदस्य कल्याणी रिजाल र सावित्रा भुषाल, पूर्व संसद कृष्णा अमात्यले संसद कार्यक्रमअन्तर्गत सहयोग गर्नुभएको छ । यसै गरी स्थानीय सामाजिक संघ संस्था र व्यक्तिगत रुपमा दाताहरुले चन्दा दिनुभएको छ ।
उद्घाटन कार्यक्रमपछि बोल्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले, सुखका बेला धेरै र दुःखका बेला कम व्यक्तिको साथ हुने सामाजिक अवस्थाका विषयमा कुरा गर्दै दुःखमा साथ दिने नै सच्चा सहयोगी भएको उल्लेख गर्नुभयो । ‘किरियापुत्री भवन दुःख व्यवस्थापनमा साथ दिने ठाउँ हो । यस प्रकारका ठाउँको सञ्चालन र व्यवस्थापनमा संवेदनशील हुनुपर्छ ।’ मेयर शाक्यको भनाइ थियो ।
‘व्यक्ति मरिसकेपछि उसका गुण खोज्न थालिन्छ । यदि कोही गुणी छ । प्रतिभाशाली छ । योग्य छ । क्षमतावान छ भने यसको क्षमतालाई ऊ जीवितै भएका बेला सम्मान गरौँ । मृत्युपश्चात गरिने प्रशंशाभन्दा मृत्यु अघि नै गरिएको सम्मान धेरै प्रभावकारी हुन्छ ।’ शाक्यले भन्नुभयो, ‘सामाजिक व्यवस्थापनका लागि गरिने रचनात्मक तथा सिर्जनात्मक कामका लागि महानगरपालिका सहयोग गर्न तयार छ ।’
त्यस अवसरमा प्रदेश सभा सदस्य गणेश दुलालले, सामुदायिक भवन वहुउपयोगी भएकोले यसको व्यवस्थापन पनि त्यसैबमोजिम गरिने धारणा राख्नुभयो । ‘भवन निर्माणको अवधारणा आउँदा सामाजिक सेवा पहिलो शर्त भएकोले भवनको उपयोग सामाजिक उद्देश्यका लागि गरिनुपर्छ ।’ प्रदेश सभा सदस्य दुलालको भनाइ थियो । त्यस्तै पूर्व संसद कल्याणी रिजालले, चुनावको प्रतिस्पर्धा भए पनि विकास निर्माण तथा सार्वजनिक महत्वका सेवामा सहकार्य हुनुपर्ने बताउनुभयो ।
किरिया बस्नु भनेको संवेदनशील अवस्था हो । यो अवस्था पार लगाउन व्यक्तिगत र सामाजिक सद्भाव आवश्यक हुन्छ । कार्यक्रममा बोल्दै वडाध्यक्ष नारायण भण्डारीले, भवन प्रयोग गर्दा यही संवेदनशीलता अपनाउनु पर्ने बताउनुभयो ।
क्षेत्रगत तथा तहगत सहभागिताबाट उद्घाटन गरिएको भवन क्षेत्रगत र तहगत समन्वयको नमूना हो । कार्यक्रममा सेवा सदनका अध्यक्ष रामकृष्ण थापा मगरले यो सिकाइ प्रवर्धन योग्य भएको धारणा राख्नुभयो ।
भवनमा आवश्यक पर्ने फर्निचर, भाडाकुँडा, लत्ताकपडा, ग्याँस, हिटर, चुलो लगायतक करिब १६ लाख रुपैयाँ बराबरका भौतिक सामग्री महानगरले उपलब्ध गराएको छ ।























