पोखरामा जारको पानीको मूल्यबृद्धि
पोखराका पानी डिलर सञ्चालकहरू आन्दोलित बने
पोखरा । कास्की जिल्लाका पानी उद्योगहरूले चैत्र १ गतेदेखि लागू हुने गरि बजारमा पानी जारको मूल्य बढाएका छन । पानी उद्योगहरूले डिडरलाई प्रतिजार रू २० मा दिदै आएको पानीको मुल्यमा एकै पटक ७५ प्रतिशत मुल्यबृद्धि गरि रू.३५ बनाएपछि पोखराका पानी डिलर सञ्चालकहरू आन्दोलित बनेका छन् ।
पानी डिलरहरूले रू. २० मा उद्योग बाट खरिद गर्ने पानी उपभोक्ताहरूलाई रू.३५ देखि रू.४० मा बिक्री गर्दै आएका थिए। अब १५ रूपैयाँ थप मूल्य बृद्धि भएपछि लागत ७५ प्रतिशत बढेकाले रू. ५०–६० मा बिक्री गर्नुपर्ने हुँदा उपभोक्ताहरूले विरोध गर्ने भएकाले मूल्य नबढाउन भन्दै हिजोदेखि पानी बिक्रीवितरण नगरि आन्दोलन थालेका छन। नेपाल वाटर व्यवसायी संघले जारको पानीको मूल्य १५ रुपैयाँ बढाएको छ ।
यसअघि कम्पनीले २० रुपैयाँमा बेच्दै आएको प्रतिजार ३५ रुपैयाँ पुगेको छ । यतिधेरै मूल्य बढाउँदा उपभोक्तालाई समस्या पर्ने डिलर र खुद्रा व्यवसायीको गुनासो रहेको छ ।
विरोध स्वरुप उनीहरुले हिजो मंगलबार साँझ पोखरामा जारको पानी बोकेका गाडी सहित प्रदर्शन गरेका थिए । पोखराको अमरसिंहचोकबाट सुरु भएको विरोध प्रदर्शन नयाँबजारस्थित प्रदर्शनी केन्द्रसम्मै गाडी तेर्साएर गरिएको थियो ।
नेपाल वाटर व्यवसायी संघले सिण्डिकेट लगाएपछि आफूहरु आन्दोलनमा उत्रिनु परेको डिलर सञ्चालक पुरुषोत्तम कँडेलले बताएका छन ।
संघले मूल्य वृद्धिसँगै फरक कम्पनीको पानी बोक्न नपाउने नियम पनि बनाएको छ । ‘२० रुपैयाँको पानी रातभरमा ३५ भयो । यो तर सरासर सिण्डिकेट भयो,’ कडेलले भने, ‘आफ्नै खरिद मूल्य ३५ परेपछि पसललाई कतिमा बेच्नु रु उपभोक्ताले हामीलाई गाली गर्छन,गाली र वचन खाने हामी हुन्छौ, ढुवानी खर्च र अन्य लागत खर्च २० प्रतिशत बढेको छ,यसमा २५ प्रतिशत मूल्य बढनु उचित भएपनि ७५ प्रतिशत मूल्य बृद्विले अत्यावश्यक बस्तु पानि खरिदमा उपभोक्ता मारमा पर्ने छन।’
बढेको मूल्य फिर्ता नभएसम्म आन्दोलन कायम रहने कडेलले बताएका छन । पोखरामा हाल उपभोक्ताले प्रतिजार ५० रुपैयाँमा पानी खरिद गर्दै आएका छन ।






















