एनआरएनए संस्थापन पक्षबाट फुटाउने निर्णय
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को संस्थापन पक्षले नै संस्थालाई फुटाउने निर्णय गरेको छ । काम चलाउ अध्यक्ष कुमार पन्त विधान विपरित जम्मा २ दिनको सूचना जारी गरि बुधबार बोलाएको बैठकलाई अधिकांश पदाधिकारी तथा सदस्यहरुले वहिष्कार गरेका थिए ।
१४० बढी आइसीसी सदस्यहरु रहेकोमा ५० भन्दा कम सदस्यहरु मात्रै बैठकमा सहभागी भएको जनाएको छ । बैठकले संरक्षक परिषद तथा उच्चस्तरीय समिति खारेज गर्ने, ५ दिनभित्र प्रतिनिधि शूल्क नबुझाएमा अमेरिका, युके, अस्ट्रेलिया, जापान, क्यानडा लगायतका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको आवद्धता खारेज गरी पुनर्गठन गर्ने जस्ता एकपक्षीय र विधानको ठाडो उल्लङ्घन गर्ने खालका निर्णयहरु गरेको बताएको छ ।
प्रतिनिधि विवादका कारण गत अक्टोबर २०२१ मा हुनुपर्ने गैरआवासीय नेपाली संघको दशौं महाधिवेशन हुन नसकेकाले विवाद समाधान गरी महाधिवेशन सम्पन्न गर्ने म्यान्डेटका साथ आइसीसीको ८१ औं बैठकले संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो । घलेले बुधबार मात्रै आफ्नो प्रतिवेदन समितिलाई बुझाउनुभएको थियो ।
संघको विधान २००३ (संशोधन सहित २०२१ अनुसार) आइसीसीले संरक्षक परिषदलाई विघटन गर्न मिल्दैन । नयाँ आइसीसी गठन भएपछि मात्रै संरक्षक परिषद पनि नयाँ गठन हुने व्यवस्था छ ।
तर एकलौटी रुपमा कथित चुनाव गराई संस्था कब्जा गर्ने उद्देश्यले अध्यक्ष पन्त लगायतले संरक्षक परिषद तथा उच्चस्तरीय समिति विघटन गर्ने अवैधानिक निर्णय गरेको संघका अभियन्ताहरुले जनाएका छन् ।


























