एमालेको ६३ जिल्लामा नयाँ नेतृत्व चयन
काठमाडौं । नेकपा (एमाले)ले ६३ जिल्ला अधिवेशन र दुई विशेष जिल्ला अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको जनाएको छ ।
गत माघ ४ गते मंगलबार एमालेले एक विज्ञप्ति जारी गरी बाँकी १४ जिल्लामा कोभिड संक्रमण कम भएपछि जिल्ला अधिवेशन गर्ने जानकारी दिएको छ ।
एमालेका अनुसार पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उदघाटन भई नेतृत्व चयन र समापन हुन बाँकी रहेको छ ।
मधेस प्रदेशका धनुषा, महोत्तरी, सर्लाही जिल्ला, गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, लुम्बिनी प्रदेशका रुकुम पूर्व, रोल्पा, कर्णाली प्रदेशको हुम्ला र सुदुर पश्चिम प्रदेशको बझाङ गरी नौ जिल्लामा अधिवेशनका मितिहरु कोभिङ–१९ महामारीको संक्रमणलाई ध्यानमा राखी तय गरिने एमालेले जनाएको छ ।
विद्यार्थी विशेष र उद्योग व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरु पछि आयोजना गर्ने निर्णय भएको एमालेले जनाएको छ । एमालेका अनुसार जिल्ला कमिटी सरहका सम्पर्क कमिटीहरुमध्ये मधेस प्रदेश बाहेक ६ वटै प्रदेश कमिटीका अधिवेशन पनि सम्पन्न भएको जनाएको छ ।
























