मन्त्री आले र श्रेष्ठको दिनगन्ती सुरू
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीमा केही मन्त्रीलाई फिर्ता बोलाएर तीन जना नेतालाई मन्त्री बनाउनै पर्ने विषय फेरि चर्चा हुन थालेको छ ।
यही माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनपछि उनीहरुलाई मन्त्रिपरिषदमा समेट्ने विषयमा उठ्ने संकेत देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा अहिलेको मन्त्रिपरिषद् पुनर्गठन गर्ने सोचमा रहेका छन ।
एकीकृत समाजवादीका सांसदहरु दाङका मेटमणि चौधरी, रौतहटकी कल्याणी खड्का र काठमाडौं क्षेत्र नं.८ का जीवनराम श्रेष्ठलाई मन्त्री बनाउने प्रसंग उठन थालेको छ ।
एकीकृत समाजवादीबाट अन्तिम समयमा मन्त्रीमा समेटिएका किसान श्रेष्ठ र मन्त्री पाउने निश्चित भएपछि नै एकीकृत समाजवादीमा प्रवेश गरेका प्रेम बहादुर आलेलाई ६ महिनापछि राजीनामा दिने सर्तमा मन्त्री बनाएको चर्चा सुरु भएको छ । उनीहरूको कार्यकाल सय दिन पुगेको छ ।
शेर बहादुर देउवा सरकार विस्तार हुँदा एकीकृत समाजवादीबाट सुरु चरणमा दाङका मेटमणी चौधरीको नाम पर्यटन मन्त्री बन्ने सूचीमा पहिलो नम्बरमै थियो । चौधरीको नाम अन्तिम समयमा काटेर आलेलाई पर्यटन मन्त्री बनाइएको थियो ।
त्यतिबेला आलेको नाम पनि मन्त्री बनाउने सूचीमा भएपनि उनलाई अर्कै मन्त्रालयको जिम्मा दिने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको तयारी थियो । चौधरीलाई अन्तिममा समेट्न नसकिएपछि पर्यटन मन्त्रीको जिम्मा आलेको भागमा परेको हो ।
आले २०७४ सालदेखि नै पर्यटन मन्त्रालयका दावी गरिरहेका थिए । त्यतिबेला अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटक छलफल गरेर पर्यटनको मन्त्रालयको दावी गरेका थिए ।
तर, अन्तिममा ओलीले रविन्द्र अधिकारीलाई पर्यटन मन्त्री बनाएका थिए । आले वन मन्त्री भएका थिए। त्यतिबेला यती समूहले भने आफ्नो रबर स्ट्याम्प पार्वत गुरुङलाई पर्यटन मन्त्रालयका जिम्मा दिन लविङ गरेको थियो ।
अध्यक्ष माधव नेपालकै गृह जिल्ला रौतहटकी कल्याणी खड्काले पनि पहिलादेखि नै मन्त्रीको बन्ने रहर गरेकी थिइन् । तर, खड्का संसदीय समितिको सभापति समेत रहेकोले राज्यमन्त्री सरहको सुविधा पाइरहेकी छिन् ।
त्यसैकारण उनलाई केही दिन धैर्य गर्न अध्यक्ष नेपालले सम्झाएका थिए। मन्त्री बनाउन नसकेका कारण जीवनराम श्रेष्ठलाई अध्यक्ष माधव नेपालले प्रमुख सचेतक नियुक्त गरेका थिए । अहिले अवसर नपाएको तर लुम्बिनी प्रदेशमा राम्रो संगठन विस्तार गरेका नेता मेटमणि चौधरी हुन् ।
एकीकृत समाजवादीबाट मन्त्री भएकामध्ये आले नारायणहिटी संग्राहलय रेष्टुरेन्ट, पशुपतिको धर्मशाला लिज प्रकरणमा एक्सनमा उत्रिएका छन् ।
६ महिनापछि मन्त्री पदबाट हट्नै पर्ने सहमतिका कारण मन्त्री पदमा टिक्न र जनताको सेम्पेथि लिन मन्त्री आले कडा एक्सनमा आएका हुन। एकीकृत समाजवादीको आलोपालो मन्त्री हुने पुरानो सहमति कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढे तत्काल आले र किसान श्रेष्ठ मन्त्री बाट हटन सक्छन। उनीहरूलाई हटाउन अध्यक्ष नेपालमाथि दबाब पर्ने देखिएको छ ।
एकीकृत समाजवादीको तर्फबाट मन्त्रीहरुको गत माघ ३ गते सोमबार एक सय दिन पुगेको छ । मन्त्री पद छाड्नै पर्ने सहमति अनुसार अब माघ ५ गतेबाट ७८ दिन मात्र बाँकी रहेको छ ।
उनीहरू मन्त्री भएको आगामी चैत २४ गते ६ महिना पूरा हुनेछ । त्यसपछि मन्त्री आले र किसान श्रेष्ठ हटन सक्छन। सहमति र सर्त अनुसार नयाँवर्ष २०७९ वैशाख नलाग्दै आगामी चैत २४ गते राजीनामा दिएर विदावारी हुनु पर्नेछ। तर राम्रो काम गर्ने आलेलाई नहटाउन कार्यकर्ता र नेपाली जनताबाट दवाव पर्न सक्छ।























