सैनिक प्रवक्तामा आजबाट सहायक रथी सिलवाल
काठमाडौं । नेपाली सेनाको सैनिक मुख्यालय जंगी अड्डाले मन्त्रिपरिषद्को गत पुस १ गतेको निर्णय अनुसार सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशकमा सरुवा नियुक्ती भएका सहायक रथी नारायण सिलवाललाई आज पुस २९ गते बिहीबारदेखि औपचारिक जिम्मेबारी दिएको छ । सेनाको सो निर्देशनालयका निर्देशक सैनिक प्रवक्ता रहने व्यवस्था छ ।
यसअघिका सैनिक प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौड्यालको १६ महिनापछि सरुवा भएको थियो ।
पौड्याललाई शान्ति सेना निर्देशनालयमा निर्देशकको जिम्मेवारी दिइएको छ । उनी गत २०७७ साउन १ गतेबाट प्रवक्ताको जिम्मेबारीमा थिए । अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रवक्ता नियुक्त गरेका उनी प्रधानसेनापति प्रभुराम शर्मा नियुक्त भएपछि पनि फेरिएका थिएनन् ।
प्रवक्ताको जिम्मेबारी सम्हालेका सिलवाल यसअघि १ नम्बर बाहिनी बालाजुमा बाहिनीपति थिए । उनी केही समयअघिमात्र पाकिस्तानमा नेशनल डिफेन्स कोर्स पुरा गरेका २७ बेसिकका सैनिक अधिकृत हुन् ।
सेनाको प्रवक्ताका रुपमा सहायक रथी पौड्यालले अवकाशप्राप्त प्रधानसेनापति पुर्णचन्द्र थापा र उनको समूहबाट भएका गल्ती सच्याउने र सेनाभित्र ‘ड्यामेज कन्ट्रोल मेकानिज्म’ मा काम गरिरहेका थिए ।

























