काठमाडौंका छ निजि अस्पतालले पनि कोरोना खोप लगाउन पाउने
काठमाडौं । कोभिड–१९ को संक्रमण बढ्न थालेपछि काठमाडौंमा निजी अस्पतालबाट पनि खोप लगाउन थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार ६ वटा निजी अस्पतालबाट पनि कोभिडविरुद्धको खोप उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
जसमा काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीतापाइला र नोबेल अस्पताल सिनामंगलबाट कोभिडविरुद्धको खोप निःशुल्क लगाउन पाइने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भू काफ्लेले जानकारी दिएका छन ।
यसअघि काठमाडौंमा ११ खोप केन्द्र सञ्चालनमा छन । सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, विरेन्द्र सैनिक अस्पताल छाउनी,लोत्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक, बयोधा अस्पताल बल्खु, प्रसूति रोग तथा स्त्रिरोग अस्पताल थापाथली, निजामती अस्पताल नयाँबानेश्वर र एपेक्स पोलिक्लिनक जडिबुटीबाट यसअघि नै खोप लगाइँदै आएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार यी अस्पतालहरूबाट भेरोसेल, कोभिशिल्ड र एस्ट्राजेनेका खोप लगाइँदै आएको छ । खोप बिहान १० बजेदेखि ३ बजेसम्म लगाइँदै आएको छ । सरकारले कोभिडविरुद्धको खोप अनिवार्यको घोषणा गरेपछि खोप लगाउनेको भीड बढेको छ ।
खोप नलगाएकालाई सार्वजनिक सेवामा निषेधको घोषणा कार्यान्वयनमा ल्याउने सरकारको तयारी रहेको छ र सिडिओ कार्यालयहरूले त्यस सम्बन्धि आदेश समेत जारी गरि सकेका छन।

























