उपरथीमा बढुवा भएका केसीलाई सैनिक इन्टिलिजेन्स र शर्मालाई उपत्यका कमाण्डको जिम्मेबारी
काठमाडौं । नेपाल सरकारको गत पुस ८ गतेको निर्णयले सहायक रथीबाट उपरथी दर्जामा पदोन्नती भएका प्रदिपजंग केसी र र योगराज शर्मालाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह लगाई दिएका छन् ।
नेपाल सरकार मन्त्रीपरिषद्को गत पुस ८ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका केसीलाई सैनिक इन्टिलिजेन्स कोरमा र शर्मालाई उपत्यका कमाण्डको कमाण्ड सेनापतिमा पदस्थापन गरिएको छ ।
साथै मन्त्री परिषद्को सोही निर्णय बमोजिम सहायक रथी दर्जामा पदोन्नति भएका सातजना मध्ये चार जना महासेनानीहरुलाई प्रधानसेनापति महारथी शर्माले सोही कार्यक्रममा सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह समेत प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
बढुवा हुने महासेनानीहरुमा भोलानाथ थापा, विष्णुकुमार खड्का, कृष्णप्रसाद भण्डारी, प्रकाशराज थापा, भुवन खत्री, ज्योतिन्द्र महत र मनोजकुमार सिलवाल रहेका छन् ।























