काठमाडौँ महानगरलाई रानीपोखरीको स्वामित्व हस्तान्तरण
रानीपोखरीजस्तै धरहरा पनि पुननिर्माणपछि महानगरलाई हस्तान्तरण हुनेछ –मेयर शाक्य
काठमाडौँ । पुननिर्माण प्राधिकरणले काठमाडौँ महानगरपालिकालाई रानीपोखरीको स्वामित्व हस्तान्तरण गरेको छ ।
आज पोखरी परिसरमा एक कार्यक्रम आयोजना गरेर प्राधिकरणका प्रमुख कार्यकारी शुशिल ज्ञवालीले महानगरका मेयर विद्यासुन्दर शाक्यलाई पोखरी हस्तान्तरणको कागज प्रदान गर्नुभएको हो । रानीपोखरीको पहिलो चरणको पुननिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणको अवधि भोलिबाट सकिँदैछ ।
मल्लकालमा तत्कालीन राजा प्रताप मल्लले निर्माण गर्न लगाएको पोखरीको इतिहासलाई संरक्षण गर्दै पुननिर्माण गरिएको थियो ।
२०७२ सालको भूकम्पले पोखरी जीर्ण भएको थियो । यसको पुननिर्माणका क्रममा असमन्वय र पोखरीका विचमा रहेको मन्दिरको शैलीका विषयमा मतान्तर भएपछि तत्कालीन प्रधानमन्त्री के. पी. शर्मा ओलीको आग्रहमा पुननिर्माणपछि महानगरको स्वामित्व कायम रहने गरी राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई पुननिर्माणको जिम्मेवारी दिइएको थियो ।
हस्तान्तरण समारोहमा बोल्दै मेयर शाक्यले भन्नुभयो, ‘प्राधिकरणले पोखरी पुननिर्माण गर्दा महानगरले गरेका निर्णय कार्यान्वयन गर्नुपर्ने शर्तमा आधारमा दिइएको थियो । पुननिर्माण यसैअनुरुप भएको हो ।’
त्यसबेला पोखरीको विचमा रहेको बालगोपालेश्वर मन्दिर गुम्बज शैलीको थियो । २०७४ पुष १३ गते र त्यसै बर्ष चैत २२ गते महानगरका मेयर बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेका २ वटा बैठकका निर्णयका आधारमा त्यो मन्दिरलाई मल्लकालीन ग्रन्थकुट शैलीमा पुननिर्माण गरिएको हो ।
स्थानीय आवाज र सरोकारवाला कार्यालयविचको असमन्वयलाई बैज्ञानिक समाधान निकाल्न २०७४ पुष १३ गते राष्ट्रिय सभा गृहमा बसेको बैठकले पुरातत्व बिभागका पूर्व महानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय बिशेषज्ञ समिति गठन गरेको थियो ।
त्यस बैठकको निर्णयमा लेखिएको छ –‘रानीपोखरीलाई प्रतापमल्लकालीन शैली स्वरुप र निर्माण सामाग्री प्रयोग गरी पुनःनिर्माण गर्न देहायबमोजिमको एक बिशेषज्ञ समिति गठन गर्ने निर्णय गरियो ।’
पोखरी पुननिर्माणका सन्दर्भ र महानगरले सम्पदा पुननिर्माणका लागि गरेको लगानी तथा प्रयासका बारेमा धारणा राख्दै मेयर शाक्यले भन्नुभयो, ‘रानी पोखरीको दोस्रो चरणको काम सकिएपछि त्यो खण्ड महानगरलाई नै हस्तान्तरण हुनेछ । धरहरा पुननिर्माणपछि महानगरलाई हस्तान्तरण हुनेछ ।
काष्ठमण्डप पुननिर्माणको अन्तिम चरणमा छ । यी सम्पदा हामी जसजसले निर्माण गरे पनि राष्ट्रिय धरोहर हुन् । यी धरोहर काठमाडौँ महानगरको कार्य क्षेत्रमा छन् । त्यसैले यसको संरक्षण महानगरले गर्नेछ । सम्पत्ति सबैको हो ।’
महानगरले स्थानीय अजयरत्न स्थापितको संयोजकत्वमा ५ सदस्यीय उपभोक्ता समिति गठन गरेको थियो ।
२०७५ फागुन १५ गते कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा गठन भएको ‘रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति’ को सदस्यहरुमा महानगरपालिकाले तोकेका ३ जना जनप्रतिनिधिहरु हुनुहुन्थ्यो ।
महानगरको ३० औं कार्यपालिका बैठकले वडा १ ले अध्यक्ष भरतलाल श्रेष्ठ, वडा २७ का अध्यक्ष चिनियाँमान बज्राचार्य र वडा २८ का अध्यक्षलाई समितिमा मनोनयन गरेको थियो ।
हस्तान्तरण समारोहमा महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले सकेसम्म महानगरपालिकाले नै पुननिर्माण गर्न पाएको भए हुन्थ्यो भन्ने लागेको बताउनुभयो । यसलाई प्राधिकरणले पुननिर्माण गरेर महानगरलाई हस्तान्तरण गरेको छ । यो हामी सबैको खुशीको क्षण हो । रानी पोखरी काठमाडौँको प्रतीक हो ।
यसले काठमाडौँलाई र काठमाडौँको व्यवस्थापन गर्ने जनप्रतिनिधिलाई पनि चिनाएको छ । यसबाट आफू पनि परिचित हुन पाएकी छु । यसमा मलाई गर्व छ । उपमेयर खड्गी श्रेष्ठ भन्नुभयो, ‘उतारचढावविच काम सम्पन्न भयो । सहभागिता भयो भने समृद्धिमा पुग्न समय लाग्दैन भन्ने यो एउटा उदाहरण पनि हो ।’
पोखरीको पूर्वमा त्रिचन्द्र कलेज र घण्टाघर, पश्चिममा दरबार हाईस्कूल, उत्तरमा जमल र दक्षिणमा शान्ति वाटिका रहेको छ । पुननिर्माणको पहिलो चरणमा पोखरी र विचमा रहेको मन्दिर, मन्दिर पुग्ने पुल निर्माण सम्पन्न भइसकेको छ ।
उपभोक्ता समिति तर्फ ८ करोड १५ लाख रुपैयाँमा पोखरीमा कालीमाटी राखेर निर्माण गरेका हुन् । २०७५ चैत ११ गतेबाट थालिएको काम २०७७ साउन ३० गते सकिएको थियो ।
ठेक्कातर्फ १७ करोड ४५ लाख रुपैयाँमा बालगोपालेश्वर मन्दिर र पोखरीको बाहिरी भाग बनाउने गरी करीव २६ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । २०७६ असार २८ गते सम्झौता गरेर थालिएको काम २०७७ असोज ३० गते सकिएको हो ।
पुननिर्माणपछि २०७७ कार्तिक ५ गते रानीपोखरी र दरबार हाइस्कूलको उद्घाटन गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री के. पी. शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । त्यसैदिन दरबार हाइस्कूल महानगरलाई हस्तान्तरण गरिएको थियो ।
पुननिर्माण गर्दा परम्परागत निर्माण सामग्रीहरु चुना, सुर्खी, बालुवा, काठ, माअप्पा, दची अप्पा, फ्याको प्रयोग गरिएको छ ।
दोस्रो चरणमा उत्तरपट्टि टिकट काउन्टरसहितको पार्क र दक्षिणतर्फ सत्तल, गोलपाटीसहितका संरचना तयार हुँदैछन् । योजनाको ९० प्रतिशत काम सकिएको छ ।
प्राधिकरणका कार्यकारी अधिकृत शुशिल ज्ञवालीले भन्नुभयो, ‘रानी पोखरी पुननिर्माण धेरै कोणबाट सिकाइ बनेको छ । ठेक्का र उपभोक्ता समिति दुवै एउटै आयोजनामा समावेश हुन सक्ने रहेछ । यस्ता धेरै सिकाइ रानीपोखरीसँग छन् ।’
पोखरी दुवै चरणमा निर्माण सम्पन्न भएपछि दिगो उपयोगको कार्यक्रम बनाएर सञ्चालनमा लैजानुपर्छ , कार्यक्रममा प्राधिकरणका सचिव शुशिलचन्द्र तिवारीको भनाइ थियो ।
प्राधिकरणका सहसचिव एवं आयोजनाका प्रमुख भरतप्रसाद अर्यालकाअनुसार पोखरीमा कालीमाटीको प्रयोग गरेकाले पानी चुहिने समस्या छैन । वाष्पिकरणबाट पानीको सतह घटनुवाहेक अन्य कारणले पानीको सतह घट्दैन ।
मन्दिर, पुल सहित २०,७०८ स्वायर मिटर क्षेत्रफलमा रहेको पोखरी १.६८ मिटर गहिरो छ । सहसचिव अर्यालकाअनुसार बालगोपालेश्वर मन्दिरको उचाई १६.१५ मिटर छ । पोखरीको पिँधमा ८ हजार ५७४ दशमलव १३ घनमिटर कालीमाटी राखिएको छ । पुननिर्माणको परियोजना ३१ हजार ४७३ बर्गमिटर क्षेत्रफलमा थालिएको थियो । सरकारले २०७५ माघ १४ गते प्राधिकरणमार्फत पुननिर्माणको काम गर्ने निर्णय गरेको थियो ।


























