प्रहरीमा १७,५१७ जना सई, हवल्दार र सिपाहीको बढुवा हुने

काठमाडौं । नेपाल प्रहरीको नियमावली संशोधन गरेर वरिष्ठ नायब निरीक्षक (सिनियर सव इन्स्पेक्टर) , वरिष्ठ हवल्दार (सिनियर हेड कन्स्टेवल) र सहायक हवल्दार (असिस्टेन्ट हेड कन्स्टेवल) पद थप भएसँगै प्रहरी प्रधान कार्यालयले १७ हजार ५ सय १७ कनिष्ठ अधिकारीहरुको बढुवा मापदण्ड सहित तयारी थालेको प्रहरी स्रोतले बताएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार नियमावली कार्यन्वयनमा आएसँगै ९८२ जना जेष्ठ सईलाई वरिष्ठ नायब निरीक्षकमा, ४ हजार ३५५ जना जेष्ठ हवल्दारलाई वरिष्ठ हवल्दारमा र १२ हजार १७४ जना जेष्ठ प्रहरी जवानलाई सहायक हवल्दारमा बढुवा हुने भएका छन् ।
प्रहरी प्रधान कार्यालयले बनाँउदैं गरेको मापदण्ड अनुसार पहिलो प्राथमिकता जेष्ठतालाई दिएको छ । पहिलो प्राथमिकतामा सिनियर ब्याचको टोली पर्नेछ ।
यसरी बढुवागर्दा तल्लो तहमा कारबाही भइरहेकाहरुका संख्या धेरै भएमा त्यसका बिषयमा समेत कानून अनुसार पूर्नबिचारको तयारीमा प्रहरी प्रधान कार्यालय रहेको छ ।
प्रहरीले संशोधित नियमावली अनुसार पाएको अधिकार अनुसार पहिलो चरणमा २५ प्रतिशत सई ९८२ जना र वरिष्ठ हवल्दार ४३५५ जना र सहायक हवल्दारमा ३० प्रतिशत १२१७४ जनाको बढुवा हुने छन् ।
प्रहरीको संशोधित नियमावली अनुसार जवानबाट हवल्दारको बीचमा सहायक हवल्दार, हवल्दार र असईको बीचमा वरिष्ठ हवल्दार र सई र इन्स्पेक्टरको बीचमा वरिष्ठ नायब निरीक्षक तीन वटा दर्जा सिर्जना गरिएको छ ।