citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्रहरीको जुनियर तहमा तीन पद थपिदै

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल प्रहरी संगठनमा तीन पद थपिने भएको छ। अब वरिष्ठ नायब निरीक्षक (सिनियर सव इन्स्पेक्टर), वरिष्ठ हवल्दार (सिनियर हेड कन्स्टेवल) र सहायक हवल्दार (असिस्टेन्ट हेड कन्स्टेवल) पद थपिने भएको प्रहरी स्रोतले बताएको छ ।

सरकारको गत मंसिर १३ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी नियमावली संशोधन गरि यी पदहरु थपिएका छन । योसँगै अब प्रहरीमा लामो समयसम्म एउटै पदमा बसेका कनिष्ठ प्रहरी अधिकारीहरुको बढुवा सम्बन्धि गुनासो सम्बोधन हुने भएको छ । यो पद थपिएसँगै प्रहरीको बजेट पनि बढने भएको छ।

नेपाल प्रहरीमा लामो समयदेखि तल्लो तहमा बढुवा हुन सकेको थिएन। बढुवाकै नभएकै कारण ती तहमा कार्यरत प्रहरीहरुमा असन्तुष्टि पनि बढ्दै गएको थियो । समयमै बढुवा नहुँदा जागिर छाड्नेको संख्या समेत विगतदेखि उल्लेख्य रूपमा बढदै गएको थियो ।

प्रहरीमा सबैभन्दा बढी फिल्डमा खटिने प्रहरी जवान, प्रहरी हवल्दार, असई र सई दर्जाका हुन्छन। तर उनीहरुमध्ये कतिको एक दशकभन्दा बढी अवधिदेखि बढुवा हुन सकेको छैन। यसले असन्तुष्ट भई जागिर छोड्ने प्रवृत्ति बढेको थियो ।

प्रहरीमा राम्रो काम गर्नेको पाँच वर्ष,मध्यम काम गर्नेको सात वर्ष र ठिकठिकै काम गर्नेको आठ वर्षमा बढुवा हुनुपर्नेमा राम्रो काम गर्ने जुनियर कर्मचारीको पनि सोर्सफोर्स नहुँदा र हाकीमलाई घुस नखुवाउदा १६–१७ वर्षमा पनि बढुवा नभएको हजारौ छन।

त्यसैले नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि तीन वटा नयाँ दर्जा थप्न प्रस्ताव गरिएको थियो । सरकारले नियमावली संशोधन गरेकाले अब राजपत्रमा प्रकाशित भएपछि प्रहरीमा जुनियर कर्मचारी २० हजारको बढुवा हुने भएको छ।

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली संशोधनका लागि गरेको प्रस्ताव गृह मन्त्रालयहुँदै मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ । यो राजपत्रमा सूचना प्रकाशित भएपछि नियमावली संशोधनले पूर्णता पाउने छ । यो प्रस्ताव मन्त्रिपरिषदबाट पारित भएपछि प्रहरीमा २० हजारभन्दा बढीको बढुवा हुनेछ ।

प्रस्तावमा जवानबाट हवल्दारको बीचमा सहायक हवल्दार, हवल्दार र असईको बीचमा वरिष्ठ हवल्दार र सई र इन्स्पेक्टरको बीचमा वरिष्ठ नायब निरीक्षक तीन वटा नयाँ दर्जा सृजना गरिएको छ ।

जुन सशस्त्र प्रहरी वल र सेनामा पनि पहिल्यै प्रचलनमा छ। नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा यो व्यवस्था थिएन। अब नेपाल प्रहरीमा भने हुने भएको छ। विवरण अनुसार असईबाट सईमा बढुवाका लागि समस्या नभएकाले यी दुई दर्जाको बीचमा भने नयाँ दर्जा थप्न प्रस्ताव गरिएको छैन ।

हाल प्रहरीमा ४६ हजार २ सय १९ प्रहरी जवान छन् । प्रहरी हवलदार १४ हजार ९ सय ८९ र प्रहरी नायब निरीक्षक ९सई० ४ हजार २ सय ९६ छन् ।

अब नयाँ सिर्जना भएको प्रहरी सहायक हवल्दार पदमा सात वर्ष सेवा अवधी पुगेका १५ हजार ४ सय ०६ जना जवानको बढुवा हुने प्रहरी प्रधान कार्यालयले गरेको प्रस्तावमा उल्लेख छ । यो हालको प्रहरी जवान संख्याको एक तिहाइ हो ।

नियमावली संशोधनसँगै अब कार्यालय सहयोगीको पनि पाँच श्रेणी हुने भएको छ । यसअघि कार्यालय सहयोगीको बढुवा हुँदैन थियो । उनीहरूको पनि सेवा–सुविधा बढ्ने भएको छ । त्यस्तै, अब बढुवामा विभूषणको नम्बर गणना नहुने भएको छ ।

यस्तो प्रावधानले विभूषणमै विकृति बढाएको भन्दै नियमावली संशोधन गर्दै नम्बर कटौती गरेर विभूषणको नम्वर ज्येष्ठतामा थपिएको छ ।

हालको प्रावधान अनुसार बढुवाको सय पूर्णांङकमध्ये विभूषणबापत दुई नम्बर जोडिन्छ । जसमा सबैभन्दा धेरै नम्बर ल्याउनेहरू बढुवामा सिफारिस हुन्छन् । सयमध्ये ४० नम्बर कार्यसम्पादन मूल्यांकन र २० ज्येष्ठताका आधारमा तय हुन्छ ।

नियमावली संशोधनपछि ज्येष्ठताबापत २२ नम्बर हुनेछ । जसअनुसार अब ज्येष्ठ प्रहरी अधिकृतहरू बढुवामा पर्ने सम्भावना धेरै हुन्छ ।

त्यस्तै भौगोलिक क्षेत्रमा काम गरेको अनुभवका आधारमा आठ, शैक्षिक योग्यता बापत १०, तालिम बापत ७.५, चुनौतीपूर्ण तथा विशेष जिम्मेवारीबापत ५ र बढुवा समितिले दिने ७‍।५ अंक हुन्छ । जसलाई यथावत् राखिएको छ ।

विभूषणको नम्बर ज्येष्ठतामा जोडेपछि यसले बढुवालाई पारदर्शी र निष्पक्ष बनाउन सहयोग पुग्ने निष्कर्ष सहित हटाउन लागिएको एक उच्च प्रहरी अधिकारीले बताएका छन् । हरेक वर्ष विभूषण पाउनेको सूचीमा ठूलो संख्या सुरक्षाकर्मीको हुने गरेको छ ।

निश्चित कोटा नभएकाले पहुँचका आधारमा जथाभावी विभूषण वितरण हुँदा विभूषण नै विवादमा पर्दै आएको देखिन्छ ।

himalayan life insurance
igi long