उच्च पहाडी र हिमाली क्षेत्रमा आज र भोली वर्षा हुने

काठमाडौं । अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण नेपालमा वर्षाको सम्भावना देखापरेको छ । जसकारण आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमतीका एक–दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र अन्य बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात र हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा बदली रही एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको आंकलन रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । शनिबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।
पहाडि क्षेत्रको मौसम हिजो देखिनै धुम्मधाम्मको स्थित छ। आज निकै चिसो बढेको महसुस भएको छ।