सबै नेपालीमा राष्ट्रियताको चिन्ता
काठमाडौं । उत्तरी मित्रराष्ट्र चीनले आफ्नो राष्ट्रिय स्वार्थ र सुरक्षा बारे कसैसँग बहस नै गर्दैन । त्यो नितान्त आफ्नो सम्पत्ति ठान्दछ ।
२०७६ कार्तिकमा नेपालको एक दिने भ्रमण सकाएर बेइजिङ्ग उत्रेपछि चीनका शक्तिशाली राष्ट्रपति सि जीङ पीङले एकाएक उदघोष गरेका थिए “चीनको सार्वभौमिक अखण्डताका विरुद्ध जोसुकै लागुन्, तिनका हातखुट्टा चीनले भाँचिदिने छ ।”
चीनका राष्ट्रपतिको यो भनाइ राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्तासँग गासिएको अति सम्वेदनशिल अभिव्यक्ति हो। जुन हरेक राष्ट्रले अपनाउने नीति हो।
दक्षिणी छिमेकी मित्र राष्ट्रका भारतीयहरु जो सुकै सरकारमा आउन्, उनीहरु सबैभन्दा पहिले आफ्नो राष्ट्रिय स्वार्थ हेर्छन्। परराष्ट्र नीतिमा भारतीय पार्टीका नीति र नेताहरूको अभिव्यक्तिमा फरकपन हुँदैन। जुन पार्टी सरकारमा आएपनि विदेश नीति एउटै हुन्छ।
छिमेकलाई हेर्ने, सहयोग गर्ने र लगानी गर्ने दृष्टिकोण एउटै हुन्छ। तर हाम्रो देश नेपालका पार्टी र दलका नेताहरू भने राष्ट्रिय स्वार्थभन्दा धन आर्जनमै लिप्त छन् । भारतले यस्तो कमजोरी बुझेकोले नेपालीलाई राष्ट्रिय स्वार्थमा”कम्प्रोमाइज” गराउनमै नेपालसँगको उसको सम्पूर्ण कूटनीति केन्द्रीत रहदै आएको छ ।
त्यही कारणले नेपालको प्राथमिकतामा आफ्नो देशको राष्ट्रिय स्वार्थ र सुरक्षा पर्ने गरेको छैन । अन्ततः ढिलोचाडो नेपाल विखण्डन, विलय वा विश्रृंखलताकै बाटोमा द्रुतगतिमा अघि बढिरहेको देखिन्छ। राष्ट्रियता सौदाबाजीको विषय बन्दै “डेड इण्ड” तर्फ उन्मुख छ ।
नेपालमा राणातन्त्र गयो प्रजातन्त्र आयो, प्रजातन्त्र गयो पंचायततन्त्र आयो, पंचायततन्त्र गयो लोकतन्त्र आयो, लोकतन्त्र गयो अनि अहिले गणतन्त्र आयो । नेपालको राष्ट्रियता कसरी अघि बढिरहेछ, यही बीचका सुचकसँग तुलनात्मक अध्ययन गर्दा सबै प्रष्ट थाहा हुन्छ ।
गणतन्त्रपछि जाने बाटो एउटै देखिएको छ( त्यो हो परतन्त्र । सार्वभौम र स्वाधीन नेपालको यात्रा यहाँसम्म मात्रै हो, अहिले हामी यात्राको अन्तिम पाऊमा छौं । वातावरणमा एकाएक सन्नाटा छाउने खालको छ। मेरो देश सिक्किम नहोस। भुटान नहोस।
अफगानिस्तान नहोस। अझ भन्ने हो भने सुडान नहोस। कसले कहिले देशको प्राकृतिक स्रोत साधन विदेशीलाई राष्ट्रियहित विपरित सुम्पेलान, देशको रक्षा,परराष्ट्र,उर्जा अधिकार विदेशीको हातमा देलान, देशमा विदेशी सेनाको बुट कतिबेला बज्रेला र देश विभाजित होला भन्ने आम नेपालीको चिन्ता र चासो देखिन्छ।
सत्ताधारी दल र हरेक सरकारप्रति नेपाली जनताले हरदम आशंका गर्दै आएका छन। अझ नेपालका प्रधानमन्त्रीको भारत भ्रमणप्रति आशंका गर्दै आएका छन। भारत जाने मन्त्री र प्रधानमन्त्रीले नेपालको स्रोत साधन सुम्पिन्छन कि भन्ने आशंका गरिन्छ।