एसईई परीक्षा स्थगित, अर्को मिति पनि तोकिएन

आर्थिक सञ्जाल बिहीबार,६ चैत्र २०७६
काठमाडौं । सरकारले बिहीबार (चैत ६ गते) देखि हुने भनिएको एसईई (माध्यामिक शिक्षा) परीक्षा स्थगित गरेको छ । परीक्षा कहिले हुने भनेर मिति पनि निर्धारण गरिएको छैन । परीक्षाका सम्बन्धमा केही समयपछि जानकारी गराइने सरकारले जानकारी गराएको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिंदै सरकारले तत्कालका लागि एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको उपप्रधान मन्त्री ईश्वर पोखरेलले जानकारी दिए । यससँगै विश्वविद्यालय तहका अन्य सबै प्रकारका परीक्षाहरु पनि स्थगित गरिएको उनले बताए ।
पोखरेल कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक हुन् । यसअघि समितिको बुधबार दिउँसो बसेको बैठकले भने एसईई परीक्षा नरोक्ने निर्णय गरेको थियो । तर पछि फेरि अर्को निर्णय गरेर यो परीक्षा समेत स्थगित गरिएको हो । यस परीक्षामा ४ लाख ८२ हजार भन्दा बढी विद्यार्थी सहभागी हुँदै थिए ।
यसको सबै तयारी समेत पूरा भइसकेको थियो । संक्रमणको सुरक्षा संवेदनशीलतालाई ध्यान दिंदै परीक्षा स्थगन गरिएको सरकारको भनाई छ ।