सौराहामा बन्ने भयो ३५ करोड लगानीमा सिटी हल

आर्थिक सञ्जाल बुधबार, ५ चैत्र
चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा सिटीहल बन्ने भएको छ । ३५ करोड २२ लाख ७० हजारको लागतमा एक हजार क्षमताको सिटीहल निर्माण हुने सङ्घीय शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले जानकारी दिए । उनले एउटा एक हजार क्षमताको ठूलो सिटीहलसँगै ५० जना अट्ने अर्को भवनसहित मिटिङ हल समेत निर्माण हुने बताए । रेलिगेर कन्स्ट्रक्शन प्रालि ललितपुरले निर्माणको जिम्मा पाएको छ।
शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग मार्फत बन्न लागेको सो हलको मङ्गलबार पूर्व अर्थ मन्त्री तथा चितवन क्षेत्र नं १ का सांसद सुरेन्द्र पाण्डेले शिलान्यास गर्दै सिटी हल निर्माणपछि सौराहाको पर्यटनले गति लिने बताए । सिटीहलले यहाँको सामाजिक तथा आर्थिक विकाससँगै सौराहाको पर्यटनलाई थप टेवा पुर्याउने उनले विश्वास व्यक्त गरे । रत्ननगर नगरपालिकाले अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याएको ठाउँमा सरकारले सिटी हल निर्माण शुरु गरेको हो ।