विवेकशील पार्टी दर्ताको लागि निवेदन
काठमाडौं । २०६९ सालदेखि सुरू भएको विवेकशील अभियानलाई निरन्तरता दिँदै त्यसलाई मजबुत र देशमा अहिले देखिएका समय सापेक्ष चुनौतीहरूलाई सामना गर्न सक्ने पार्टीको रूपमा अगाडि बढाउन आज असोज ५ गते विवेकशील पार्टीलाई दर्ता गर्न निर्वाचन आयोग बहादुर भवन, कान्तिपथमा प्रचलित कानुन तथा नियमहरू बमोजिम पार्टीले निवेदन पेश गरेको छ ।
सो पार्टीका अध्यक्ष कर्मा लामा तामाङ,प्रवक्ता विजयवावु शिवाकोटी लगायतको टोली निर्वाचन आयोग गएको थियो।
यही असोज ३ गते दलको तदर्थ संघीय समितिको बैठक बसी कर्मा लामा तामाङको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरी पार्टी दर्ता प्रक्रिया अगाडि बढाउने निर्णय गरे बमोजिम आज यो निवेदन पेश गरिएको बताइएको छ । यो पार्टीको निवेदन दर्ता नम्बर ६६० रहेको छ ।
संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशीता र सहभागितामूलक लोकतन्त्रलाई पार्टीले प्रस्थान विन्दुको रूपमा स्वीकार्दै राजनीतिक गतिविधि अगाडि बढाउन प्रतिबद्ध रहेको जनाएको छ ।

पार्टीले आफ्नो संगठनको हरेक तहमा पदाधिकारीहरूको चयन गर्दा ५० प्रतिशत महिलाको साथै दलित, आदिवासीरजनजाति, लैंगिक अल्पसंख्यक लगायत सीमान्तकृत समुदायको प्रतिनिधित्व पनि सुनिश्चित हुने प्रावधान विधानमा राखेको छ ।
पार्टीको राजनीतिक, आर्थिक, सामाजिक दर्शन तथा पार्टीले उठाउने मुद्दाहरूको बारेमा पार्टी दर्ता भएपछि विस्तृतमा जानकारी गराउने जनाएको छ ।
नियमानुसार पार्टी दर्ताको प्रक्रिया यथासम्भव चाँडो टुङ्ग्याइदिन पनि निर्वाचन आयोग समक्ष सो पार्टीले अनुरोध गरेको बुझिएको छ ।

























