सेनाको बख्तरबन्द गाडी बाहिर निस्कने !
काठमाडौं । नेपाली सेनाले बख्तरबन्द गाडीको सडकमा ड्राइभिङ अभ्यासका लागि निकाल्ने भएको छ ।
सेनाको मेकानाइज्ड युनिटबाट सकल दर्जाहरुको ड्राइभिङ सीप अभिवृद्धि गर्न सडकमा बख्तरबन्दको अभ्यास गराउन लागेको नेपाली सेनाको मुख्यालय जंगी अड्डाले जनाएको छ ।
आर्मोर्ड पर्सनल क्यारियर र माइन प्रोटेक्टिभ गाडीहरुको अभ्यास हुन लागेको जनाएको छ । अभ्यासका लागि सेनाले स्थानीय प्रशासन र प्रहरीसँग समन्वय गर्ने बताएको छ ।
काठमाडौंको सितापाइलामा तैनाथ गणले भदौ महिनादेखि चैतसम्म बख्तरबन्द गाडीको अभ्यास गर्न लागेको छ । सो गणले २०७८ भदौ १४, असोज ११, कात्तिक १५, मंसिर १३, पुस १२, माघ १०, फागुन २३ र चैत १४ गते काठमाडौंमा बख्तरबन्दको अभ्यास गर्ने जनाएको छ ।
बस्तारबन्दा ब्यारेकबाट स्वयम्भू–बालाजु–चक्रपथ–चाबहिल–गौशला–कोटेश्वर–सातदोबाटो–कलंकी हुँदै ब्यारेक फिर्ता हुने छ । यस्तै, धनगढीको बोराडाँडी ब्यारेक र इटहरीको ब्यारेकले पनि अभ्यास गर्न लागेको छ।