शुक्रवारसम्म सरकार विस्तार हुने
गृह र अर्थ सचिव बन्न प्रतिस्पर्धा
शुक्रवारसम्म सरकार विस्तार हुने
गृह र अर्थ सचिव बन्न प्रतिस्पर्धा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी साउन १५ गते शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार गरिसक्ने तयारी गरेका छन् । जसपाको आन्तरिक कलह निर्वाचन आयोगले टुंगाएर उपेन्द्र यादवलाई आधिकारिक मान्यता दिएकाले जसपाले अब सरकारमा जानेको नाम दिने भएको छ।
नेकपा(एमाले) भित्रको माधवकुमार नेपाल पक्षको अनिणर्यका कारण देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न कठिनाई भएको बताइन्छ ।
देउवाले आफ्ना तिनवटै सत्तासहयात्रीहरु भेटेर मन्त्रिपरिषदमा भाग लिने सदस्यहरुको नाम मागिरहेका छन् । प्रधानमन्त्री देउवा र उनका राजनीतिक सहयोगीहरुको टिमले नेकपा (माओवादी केन्द्र) ,जसपा र एमालेको माधव नेपाल पक्षलाई भेटेर उनीहरुको तर्फबाट मन्त्री हुनेहरुको नामावली चाँडो दिन दवाव दिइरहेका छन् । प्रधानमन्त्री देउवाले शुक्रबारसम्म मन्त्रिपरिषद विस्तारको काम टुंग्याएर अघि बढ्न चाहेको छ ।
प्रधानमन्त्री देउवाले शुक्रबारसम्म जसरी पनि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । त्यसलगत्तै सचिवहरुको कार्यविभाजन हेरफेर हुने प्रधानमन्त्रीको सचिवालय स्रोतको दावी छ ।
शुक्रबार मन्त्रिपरिषद् विस्तार भएपछि आइतबारसम्म सचिव हेरफेर गर्ने तयारी छ। यदि माओवादी केन्द्र, एमालेको नेपाल पक्ष र जसपाको कारण मन्त्रिषरिषद विस्तारमा ढिलाई हुने भएमा भने डेढ दर्जन मन्त्रालयहरुमा सचिवहरु हेरफेर गरिहाल्ने सरकारको तयारी रहेको छ ।
सरकारले गृह,रक्षा र अर्थ मन्त्रालयमा चाँडो सचिव परिवर्तन गर्ने तयारी गरेको छ । यि तीनवटै मन्त्रालयमा सचिव सरूवा गर्न प्रधानमन्त्री हतारिएका छन्।
को हुँदैछ, अर्थ, गृह र रक्षा सचिव ?
नयाँ सरकार गठनसँगै महत्वपूर्ण मन्त्रालयमा सचिव दावी गर्दै दौडधुप गर्ने सचिवहरुको संख्या ह्वात्तै बढेको थियो । यतिखेर भने सिमित सचिवहरुवीच महत्वपूर्ण मन्त्रालयको सचिव बन्ने प्रतिस्पर्धा चलेको छ ।
सबैभन्दा महत्वपूर्ण मानिने गृह मन्त्रालयमा शुरुमा ७ जनाभन्दा बढीले दावी प्रस्तुत गरेका थिए । तर अहिले भने गृह सचिवका लागि तीन–चार जनाबीच मात्र प्रतिस्पर्धा छ । उनीहरुमा मधुसुदन बुर्लाकोटी, गोकर्णमणि दुवाडी, टेकनारायण पाण्डे र कृष्णहरी पुस्कर छन् ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार यसमध्ये बुर्लाकोटी र दुवाडी मध्ये एक लाई गृह सचिव बनाउने तयारी छ । गृहका लागि प्रतिस्पर्धी अर्का दुईमध्ये कृष्णहरी पुस्करलाई रक्षा र टेकनारायण पाण्डेलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने गरी तयारी भएको प्रधानमन्त्रीको सचिवालयको दावी रहेको छ ।
सचिव कृष्णहरी पुस्कर भर्खरै सचिवमा बढुवा भएका हुन् । कनिष्ठ सचिवलाई गृह मन्त्रालयको जिम्मेवारी दिदा बरिष्ठ सचिवहरुसँग समन्वय गरेर काम गर्न कठिनाई हुने र अन्य सचिवहरुले असन्तुष्टि जनाउने हुँदा पुस्करलाई गृह सचिव बनाउनबाट पछि हटने स्थिति छ ।
सचिव पुस्करको गृहपछिको रोजाई रक्षा मन्त्रालय भएकाले उनलाई रक्षा मन्त्रालय लैजान लागिएको छ । यस्तै अहिले भूमीसुधार मन्त्रालयमा सचिव रहेका टेकनारायण पाण्डे पनि गृहका दरिला दावेदार हुन ।
तर उनमा गृह प्रशासनको अनुभव नभएकै कारण मात्र उनलाई गृह सचिव बन्नबाट रोकिन लागेको छ । यसवीचमा आन्दोलनका घटना बढ्न सक्ने, निर्वाचन गराउनु पर्ने भएकाले गृह प्रशासनको अनुभव भएकै सचिव लैजानु पर्छ भन्ने निष्कर्षमा गृह मन्त्री बालकृष्ण खाण र प्रधानमन्त्री देउवा रहेकाले पाण्डेलाई गृह मन्त्रालय नलैजाने मनस्थिती बनेको छ ।
गृह सचिवका लागि गृह मन्त्रालयको अनुभव भएको सचिवको खोजी भएको छ। अर्थ मन्त्रालयमा सुवेदी, भण्डारी, अर्याल, मरासिनीको अन्तिम प्रतिस्पर्धामा
गृह मन्त्रालयमा जस्तै अर्थ मन्त्रालयको सचिवका लागि पनि आधा दर्जन सचिवहरुको दौडधुप चलेको थियो । अर्थ सचिवका लागि प्रतिस्पर्धीहरुको संख्या सिमित बन्दै गएको छ ।
अर्थ सचिवका लागि उपराष्ट्रपति कार्यालयका सचिव रामकृष्ण सुवेदी, राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारी, प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याल, महालेखा नियन्त्रक मधु कुमार मरासिनी प्रतिस्पर्धामा छन् ।
अर्थ मन्त्री जनादर्शन शर्माको पहिलो रोजाईमा सचिव रामकृष्ण सुवेदी छन् । तर अर्थ मन्त्रालयमा लामो समय बसेको अनुभव नभएका कारण उनले अर्थ सचिव चलाउन नसक्ने अडकल भैरहेको छ।
अर्थ मन्त्री शर्माले केवल भण्डारीलाई राजस्व सचिव बनाउन चाहेका छन् । तर रामकृष्ण सुवेदी, भण्डारी भन्दा कनिष्ठ सचिव हुन् । अर्थ मन्त्री शर्माले सुवेदी र भण्डारीमध्ये एक जनालाई अर्थ सचिव बनाउन चाहेको स्रोतको दावी छ । राजस्व सचिवमा बैकुण्ठ भण्डारी र मधु कुमार मरासिनी मध्ये एक जना बनाउने तयारी मन्त्री शर्माको छ।