खानेपानी तथा सरसफाई डिभिजनका प्रमुखसहित ६ जना बिरुद्ध ६ करोड बढीको भ्रष्टाचार मुद्दा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । साविक खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नवलपरासीका प्रमुख रामचन्द्र काफ्ले सहित ६ जना बिरुद्ध ६ करोड भन्दा बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । खानेपानी डिभिजन कार्यालय नवलपरासी र सुनौला खिम्ती–अजम्बर–शिवराज जेभी चरिकोट बीच जलुके विजयनगर खानेपानी तथा सरसफाई आयोजनाको निर्माण ठेक्का सम्झौता र मोबिलाइजेशन पेश्की लिने प्रयोजनका लागि राष्ट्रिय वाणिज्य बैंक धुलिखेलबाट जारी रकमको कार्यसम्पादन जमानत १ करोड ५८ लाखको अग्रिम रकम भुक्तानी बैंक जमानत नक्कली रहेको पाइएको छ ।

उक्त आयोजनाको रकम हिनामिना गर्ने कार्यालय प्रमुख काफ्ले, लेखा अधिकृत ध्रुबराज गौतमलाई २ करोड २ लाख ७३ हजार, रावा बैंक धुलिखेलका तत्कालीन प्रबन्धक राजप्रसाद ढकाललाई २ करोड २ लाख ७३ हजार र निर्माण कम्पनी शिवराज कन्स्ट्रक्सनका अध्यक्ष शिवजी सापकोटा, अजम्बर निर्माण सेवाका प्रोप्राइटर बैकुण्ठप्रसाद भण्डारी र सुनौला खिम्तीका प्रबन्ध निर्देशक धर्मराज भण्डारीलाई २ करोड २ लाख ७३ हजार बिगो कायम गरी विशेष अदालतमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।
यता, साविक नेपाल खाद्य संस्थान हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका तत्कालीन महाप्रवन्धक शिवहरी श्रेष्ठ र खरिद इकाई प्रमुख खड्गबहादुर ज्ञवाली विरुद्ध मंगलबार नै विशेष अदालतमा २ लाख ३८ हजार ९५६ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

यसैगरी, भूमिसुधार कार्यालत तथा मालपोत कार्यालय सुनसरीका तत्कालीन मालपोत अधिकृत दधिराम गुरागाईँ समेत ८ जना बिरुद्ध मंगलबार नै विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । मृत्यु भइसकेको व्यक्ति धरान १० की रनमाया लिम्बुको कीर्ते औठाछाप लगाई अर्कै व्यक्तिको नाममा जग्गा पास गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा गलत लिखत तयार गरी उक्त भष्टाचारजन्य कसुरमा संलग्न ब्यक्तिहरु विरुद्ध मुद्दा दर्ता गरिएको हो ।

मालपोत अधिकृत गुरागाईँ, नायब सुब्बा मनोज घिमिरे, खरिदार कृष्णप्रसाद नेपाल र रामप्रसाद भट्टराईलाई ३१ लाख ३५ हजार, आरोपित रत्नदेवी लिम्बुको हकमा ३१ लाख ३५ हजार बिगो कायम गरिएको र इटहरी उपमहानगरपालिकाका शाखा अधिकृत राजेन्द्र धिमाल, लेखापढी व्यवसायी पुष्करप्रसाद पोखरेल तथा पारित गलत लिखतका साक्षी गोबिन्द कोइरालाको हकमा समेत सजायको माग दाबी सहित आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता कोइरालाले विज्ञप्ति प्रकाशित गरी जनाएका छन् ।

IME Lifesidebar
kumari