stcnepal long ad
ime life insurance
national life
global ime bank long

आवश्यक संरचना नबनेका कारण सबै ठाउँमा मेलम्चीको पानी वितरण भएन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ  । मेलम्चीको पानी वितरण गर्ने भनिएका काठमाडौँ उपत्यकाका कतिपय स्थानमा आवश्यक संरचना नबनेका कारण पानी वितरण हुनसकेको छैन । काठमाडौँ उपत्यकामा चक्रपथभित्र धेरै ठाउँमा खानेपानी वितरण गरिरहे पनि आयोजना कार्यन्वयन निर्देशनालयले संरचना बनाइरहेको स्थानमा अहिले पानी वितरण शुरु हुन नसकेको हो ।

कतिपय स्थानमा पाइप बिच्छ्याउन, लिफ्ट बनाउन वा ‘क्रसिङ’ मा आवश्यक संरचना बनिनसकेको निर्देशनालयले जनाएको छ । पहिलो चरणमा पानी वितरण हुने स्थानमा मध्यपुरठिमी, भक्तपुर, कीर्तिपुरलगायतका स्थानमा संरचना बन्न बाँकी भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो ।

उहाँका अनुसार चक्रपथभित्र र आसपासका क्षेत्रमा मात्रै अहिले पानी वितरण भइरहेको छ । उहाँले भन्नुभयो, “कीर्तिपुर र भक्तपुर जिल्लामा थप पानी आएपछि र संरचना बनिसकेपछि मात्र पानी वितरण हुनेछ ।” लिमिटेडले कीर्तिपुरमा लिफ्ट बनाइरहेको छ र त्यो बनिसकेपछि त्यहाँ पानी वितरण हुनेछ ।

मध्यपुरमा क्रसिङमा आवश्यक संरचना निर्माण भएको छ । त्यो ‘सेटिङ’ हुन कम्तीमा २८ दिन लाग्ने निर्देशनालयका सूचना अधिकारी जगत प्रजापतिले बताउनुभयो । उहाँका अनुसार त्यहाँ काम शुरु भएको दुई साता भयो । अबको दुई सातामा पानी वितरण गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ठिमीको ट्याङ्कीमा पानी गइसकेकाले अब दुई हप्तामा त्यस क्षेत्रका बासिन्दाले पनि पानी पाउनेछन् ।”

राष्ट्रिय गौरबको मेलम्ची खोपानी आयोजना निर्माण शुरु भएको दुई दशकमा सम्पन्न भएपछि अहिले उपत्यकामा पानी ल्याइएको छ । मेलम्चीको पानी काठमाडौँसम्म ल्याउन सुरुङ, ‘हेडवर्क’ र प्रशोधन केन्द्र निर्माणको जिम्मेवारी मेलम्ची खानेपानी आयोजनाको हो । यसमध्ये सुरुङ र प्रशोधन केन्द्र सम्पन्न भएकाले पानी वितरण भइरहेको छ ।

सुन्दरीजलबाट उपभोक्ताका घर–घरसम्म पानी वितरणका लागि आवश्यक ट्याङ्की र पाइपलाइन बनाउने काम आयोजना कार्यन्वयन निर्देशनालयले गरिरहेको छ । पानीको वितरणको काम लिमिटेडले गरिरहेको छ ।

निर्देशनालयले उपत्यकामा १० स्थानमा ट्याङ्की निर्माण गर्ने योजना बनाएकामा अहिलेसम्म नौ ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ भने भक्तपुरको कटुञ्जेमा निर्माण भइरहेको छ । यी सबै पोखरीमा निर्देशनालयले परीक्षण गरिरहेको छ । अहिले उपत्यकामा अधिकांश स्थानमा पुरानै पाइपलाइनबाट पानी वितरण भइरहेको निर्देशनालयले जनाएको छ । रासस

IME Lifesidebar
kumari