सशस्त्र प्रहरी महानिरीक्षकबाट गणपति तालिम र गुल्मपति तथा स्टाफ तालिम समापन
????????????????????????????????????
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. ४ गणपति तालिम र सि.सं. २४ गुल्मपति तथा स्टाफ तालिमको असोज ३० गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच समापन गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यस अवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँले तालिमका प्रशिक्षकहरुलाई समेत प्रशंसापत्र प्रदान गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै फौजी संगठनमा यस्ता व्यावसायीक तालिमबाट प्राप्त ज्ञान, कला तथा कौशलले सुरक्षाकर्मीहरुको व्यावसायीक क्षमतामा अभिबृद्धि हुनुका साथै कार्यक्षेत्रमा दायित्व निर्वाहमा सघाउ पुग्ने उल्लेख गर्नुुभयो ।
खनालले व्यक्तिगत वृत्तिविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने यस्ता पेशागत तालिमले दक्ष जनशक्ति तयार भई कार्यक्षेत्रमा रहेका चुनौती तथा भोलिका दिनहरुमा आउन सक्ने सुरक्षा चुनौतीहरुलाई समेत परास्त गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नसक्ने कुशल कमाण्डर उत्पादन हुने बिश्वास व्यक्त गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले सुरक्षा संगठनमा चेन अफ कमाण्ड र टिम स्पिरिटको विशेष महत्व रहने चर्चा गर्नुहुँदै कमाण्डर तहका अधिकृतहरुमा रहेको ज्ञान सिपहरु मातहतका कर्मचारीहरुलाई समेत सिकाउन सकिएमा कार्यक्षेत्रमा खटिँईदा सहज रुपमा कार्यसम्पादन गर्न सकिने तथा राष्ट्र र नागरिकको सेवा, सुरक्षा र आपद्विपद्मा परेका नागरिकको सहयोगमा प्रभावकारिता आउने बताउनुभयो ।
दुई महिना अवधिको गणपति तालिममा कूल २८ जना सशस्त्र प्रहरी नायव उपरीक्षकहरु र तीन महिना अवधिको गुल्मपति तथा स्टाफ तालिममा कूल ३४ जना सशस्त्र प्रहरी निरीक्षकहरुको सहभागिता रहेको थियो ।
गणपति तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक लालबहादुर शाही सर्वप्रथम भएका छन् भने सोधपत्रतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर चन्द उत्कृष्ट ठहरिएका छन् ।





























