सम्झना विककाे हत्यारालाई कारवाही गर्न माग
काठमाडौ । बझाङको मष्टा गाउँपालिका–२ निवासी १२ वर्षीय नाबालिका सम्झना विकको शंकास्पद अवस्थामा हत्या भएको छ । प्रारम्भिक विवरणअनुसार सम्झनाको बलात्कार गरी हत्या गरिएको बताइएको छ ।
यस्तो जघन्य अपराधमा संलग्न जो कोहि भए पनि तत्काल पक्राउ गरी हदैसम्मको कारवाही गर्न नेपाली कांग्रेसकि केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. डिला संग्राैलाले आज एक विज्ञाप्ती प्रकाशित गरि सरकारसँग माग गरेकी छिन्।
उनले भनेकी छिन – गएका केही महिना यता देशभरि नै दलित समुदाय विरुद्ध आक्रमण र हिंसाका घटनाहरु बढ्दै गएका छन् । रुकुम पश्चिममा नवराज विकलगायतका ६ जना युवाहरुको नृशंस हत्यापछि मधेशमा पनि दलित समुदाय विरुद्ध हत्या र हिंसाका घटनाहरू भएका छन् ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको देशव्यापी विरोध हुँदा पनि अहिलेसम्म सरकारले दोषी पत्ता लगाउन सकेको छैन । देशभरि यसरी दण्डहीनताको स्थिति बढ्दै जाँदा त्यसको पहिलो शिकार महिला र बालबालिका नै हुने अन्तर्राष्ट्रिय अनुभवहरुले देखाएका छन् ।
नेपालको संविधान २०७२ ले नागरिकको जीउधनको सुरक्षा राज्यको प्रमुख दायित्व भनेको छ । तर कोरोना महामारी नियन्त्रण होस् वा रोग र भोकसँग जुधी रहेका जनतालाई राहत दिने काम होस् वा शान्ति सुरक्षा कायम गर्न नेकपा सरकार असफल हुँदै गएको छ ।
भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेको यो सरकारबाट सुशासनको अपेक्षा गर्नु वैशाख-जेष्ठको मध्यान्ह गर्मीमा शीतलको अपेक्षा गर्नु जस्तो हुँदै गएको छ ।
अन्यमा भनिएकाे छ-यस पृष्ठभूमिमा म पुनः सम्झना विक, निर्मला पन्तलगायतका निर्दोष बालिकाहरुको हत्याराको पहिचान गरी कडाभन्दा कडा कारवाही गर्न र दलित लगायत सबै समुदायको जीवन रक्षाको सुनिश्चितता गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु ।























