देउराली जनता फर्मास्यूटिकल्सले कोरोनाको औषधि उत्पादनको अनुमति पायो
काठमाडौं । देउराली जनता फर्मास्यूटिकल्सले कोभिड–१९ का सघन बिरामीको उपचारमा प्रयोग हुने औषधि फाभर–२०० ट्याब उत्पादन शुरु गरेको छ । कम्पनीले आज बुधबार एक विज्ञप्ति जारी गरेर कोभिड–१९को औषधि उत्पादन शुरु गरेको पुष्टि गरेको छ । उक्त उत्पादनलाई औषधि व्यवस्था विभागले असोज ६ गते अनुमति दिएको छ ।
फर्मास्यूटिकल्सले नेपाल सरकारबाट उत्पादनको अनुमति लिई नेपालमा नै पहिलो पटक फाभिर–२०० ट्याब औषधि उत्पादन शुरु गरिसकेको छ । कोभिडको उपचारका लागि क्लिनिकल अध्ययन प्रयोजनको लागि उपलब्ध गराउने गरी औषधि व्यवस्था विभागबाट असोज ६ गते स्वीकृति प्राप्त भएको छ ।
कोभिड–१९ का बिरामीहरूले उपचार र प्रयोगको लागि चिकित्सकको सिफारिस र निगरानीमा मात्र अनुसन्धानार्थ सो औषधि उपलब्ध हुने गरी औषधि व्यवस्था विभागबाट स्वीकृति प्राप्त भएको कम्पनीले जनाएको छ ।
महामारीको यस विषम परिस्थितिमा फाभिर–२०० ट्याब नामक औषधिलाई नेपाली जनताको उपयोगको लागि उपलब्ध गराउन नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभाग र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट माग वा निर्देशन भएमा कोभिड–१९ का बिरामीहरुको उपचारका लागि आवश्यक मात्रामा तुरुन्तै उपलब्ध गराउने तयारी कम्पनीले गरेको छ ।
























