stcnepal long ad
global ime bank long

डोल्पामा एक वर्षदेखि चामल ढुवानी ठप्प

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । उत्तरी छिमेकी चीनले अनुमति नदिँदा एक वर्षदेखि उपल्लो डोल्पामा चामल ढुवानी हुन नसक्दा सदरमुकाम दुनैमा चामल भए पनि उपल्लो डोल्पामा खाद्यान्न अभाव भएको छ । उपल्लो डोल्पामा चामल ढुवानी गर्न चीनको नाका प्रयोग गर्नुपर्छ तर एक वर्षदेखि चीनले नाका प्रयोगका लागि अनुमति नदिँदा ढुवानी गर्न नसकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पा प्रमुख कमलराज पाण्डेले बताउनुभयो  ।

“एक वर्षदेखि कत्ति पनि चामल पठाउन सकिएको छैन । त्यहाँको उत्पादनले पुग्दैन, यहाँबाट नपठाउँदा खाद्यान्न अभाव हुन्छ”, उहाँले भन्नुभयोे ।

उपल्लो डोल्पाका बासिन्दाका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहरतारा र तिन्जेमा बिक्री केन्द्र राखेको छ । दुवै डिपोबाट तीन हजार क्विन्टल चामल बिक्री हुँदै आएको छ । त्यहीँबाट स्थानीयवासीले खरिद गर्दै आएका थिए तर एक वर्षदेखि भने दुवै बिक्री केन्द्र रित्ता छन् ।

गत वर्ष उपल्लो डोल्पाका बासिन्दाले हिँडेरै सदरमुकाम दुनै, जाजरकोट र रुकुम पश्चिम पुगेर चामल लगेका थिए । यस वर्ष भने कोरोनाका कारण छिमेकी जिल्लाका बजारसम्म पनि आउन नसकेको शे–फोक्सुन्डो गाउँपालिकाका अध्यक्ष टासी तुन्डुप गुरुङले बताउनुभयो ।

“कोरोनाका कारण आवतजावत रोकिएकाले उपल्लो डोल्पावासी बाहिर निस्किन सकेका छैनन् । सरकारले पनि चामल ढुवानी नगर्दा खाद्यान्न अभाव भएको छ”, उहाँले भन्नुभयो, ‘धेरै ढिलो भइसक्यो । अब हवाईमार्गबाट ढुवानी गर्नुपर्छ । तत्काल ढुवानी भएन भने उपल्लो डोल्पाका बासिन्दाले भोकै बस्नुपर्ने अवस्था आउँछ ।”

उपल्लो डोल्पाका लागि काठमाडौँबाट सोझै चीन भएर खाद्यान्न ढुवानी गरिँदै आएको थियो । कोरोनाका कारण केरुङ नाका बन्द भएपछि उपल्लो डोल्पामा चामल ढुवानी हुन पाएको छैन ।

चीनको बाटो भएर डोल्पोबुद्ध गाउँपालिकाको मोरिम्लादेखि तिन्जेसम्म चामल ढुवानी हुने गथ्र्यो । त्यहीँबाट अन्यत्र वितरण गर्ने गरिएको भए पनि गत आर्थिक वर्षभर चामल गएको छैन । डोल्पोबुद्ध, शे–फोक्सुन्डो र छार्काताङसोङ गरी उपल्लो डोल्पामा तीन स्थानीय तह छन् ।

अझ माथिल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाका नागरिकले तीन आर्थिक वर्षदेखि सरकारी अनुदानको चामल पाएका छैनन् । तिन्जे बिक्री केन्द्रबाट गाउँपालिकाका नागरिकले चामल ढुवानी गर्न नसक्ने र मुस्ताङ वा दुनैबाट ढुवानीको व्यवस्था गराउन आग्रह गरे पनि सुनुवाइ नभएपछि चामल नपाएको गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले बताउनुभयो  ।

डोल्पा सदरमुकाम र आसपासका बिक्री केन्द्रमा चामल थन्किएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पा प्रमुख पाण्डेका अनुसार सदरमुकाम दुनैमा एक हजार २८०, जुफालमा एक हजार २००, सर्मीमा २९९ र काइगाउँमा एक हजार क्विन्टल चामल मौज्दात छ । गत आर्थिक वर्षमा ढुवानी हुन नसकेपछि यस आर्थिक वर्षका लागि त ठेक्का पनि भएको छैन ।

उपल्लो डोल्पामा असोजदेखि हिमपात हुन्छ । त्यसपछि हवाईमार्गबाट पनि ढुवानी गर्न सकिँदैन । यो महिनाभित्रै ढुवानी गर्न आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो । “असोजमा हिमपातले समस्या हुने भएकाले यो महिनामै चामल ढुवानी गर्न पहल गरिरहेका छौँ”, उहााले भन्नुभयो ।

चामल पठाउन आपूर्तिमन्त्रीलाई पत्र

चामल कहिले पुग्ने ठेगान नभएपछि उपल्लो डोल्पाका तीन स्थानीय तहले हेलिकोप्टरमार्फत तत्काल खाद्यान्न ढुवानी गर्न माग गरेका छन् । उनीहरूले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई पत्र पठाएर तत्काल हवाईमार्गबाट चामल ढुवानी गर्न आग्रह गरेका हुन् ।

डोल्पोबुद्ध गाउँपालिकाले पठाएको पत्रमा तत्काल हवाईमार्गबाट उपल्लो डोल्पाको मरिम्ला र तिन्जेसम्म खाद्यान्न ढुवानी गर्न आग्रह गरेको छ । स्थानीय उत्पादन आलु तथा उवालाई सलह र असिनाले क्षति पुर्याएकाले समस्या भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भीमराज खड्काले बताउनुभयो ।

घोडा, खच्चड र आफैँले बोकेर ल्याएको अन्न रित्तिएपछि उपल्लो डोल्पामा तीनवटा स्थानीय निकाय सङ्कटमा परेको फोक्सुन्डो गाउँपलिका–४ का पसी गुरुङले बताउनुभयो  ।

१७ हजार क्विन्टल चामल माग

बाढी पहिरोका कारण व्यापक क्षति भएपछि जाजरकोटमा स्वीकृत कोटाभन्दा १७ हजार क्विन्टल चामल थप माग गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी केन्द्रीय कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा समेत सो परिमाणको चामल पठाउन आग्रह गरिएको छ । ।

सलह तथा बाढी पहिरोले सबै खेती सखाप पारेकाले खाद्य डिपो थप गर्न आग्रह गर्नुका साथै १७ हजार क्विन्टलभन्दा बढी चामल पठाउन जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिनुभयो ।

यसअघि जाजरकोटमा १० हजार क्विन्टल चामल स्वीकृत कोटाभित्र रहेर ढुवानी हुँदै आएको थियो । अहिले डिपो कार्यालय नायकवाडामा पाँच हजार र बिक्री केन्द्र काउलीमा चार हजार क्विन्टल चामलको कोटा थप गर्न माग गरिएको छ । त्यस्तै चौखा डिपोमा चार हजार ८००, घोगीमा एक हजार, दशेरामा एक हजार २००, ताँगामा दुई हजार ५०० र रजुतरामा तीन हजार २०० कोटा चामल माग गरिएको छ ।

टापुचौरमा दुई हजार, घरङ्गामा दुई हजार र दल्लीमा दुई हजार क्विन्टल चामल माग गरिएको छ । छिमेकी जिल्ला डोल्पामा पनि अघिल्लो वर्षको ढुवानी हुन बाँकी चार हजार ५०० क्विन्टल चामल स्थल मार्गबाट ढुवानी गर्ने निर्णय भएको कम्पनीका डोल्पा प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

जिल्लाको बारेकोट गाउँपालिका–८ सेपखोलामा दुई हजार क्विन्टल चामलसहित नयाँ डिपो स्थापना गर्न कम्पनीसँग माग गरिएको छ । पश्चिमको शिवालय गाउँपालिका–३ शिवालयमा दुई हजार क्विन्टल चामल, छेडागाड नगरपालिका–१२ कार्कीगाउँमा दुई हजार र छेडागाड–२ साल्मामा दुई हजार क्विन्टल चामलको कोटासहित डिपो स्थापना गर्न माग गरिएको प्रजिअ बरालले जानकारी दिनुभयो । रासस

IME Lifesidebar
kumari