अब एक साताभित्रै स्मार्ट लाइसेन्स वितरण
काठमाडौं । अब ट्रायल पास गरेको एक साताभित्रै सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) दिन सक्ने यातायात व्यवस्था विभागले बताएको छ । लकडानको अवधिमा विगत लामो समयदेखि प्रिन्ट हुन नसकेको लाइसेन्स छपाइएको काम सम्पन्न भएकाले उपत्यकाभित्र ७ देखि १० दिनभित्र स्मार्ट लाइसेन्स दिन सकिने विभागले बताएको हो ।
नेपालमा स्मार्ट लाइसेन्स छपाइएको काम विगत आठ वर्ष अघिबाट अगाडि बढेको थियो । तर प्रिन्टले थोरै मात्र छपाइ गर्दा ट्रायल पास गरेको दुई वर्षसम्म लाइसेन्स नपाउने समस्या भोग्नुपर्ने अवस्था समेत रहेको थियो ।
विभागका महानिर्देशक गोगन हमालले स्मार्ट लाइसेन्स छपाइएको काम सम्पन्न भएको बताउनुभयो । महानिर्देशक हमालले ‘बाँकी रहेको साढे नौ लाख स्मार्ट लाइसेन्स एक वर्षमा छाप्ने काम सम्पन्न भएको छ, अहिले काम नहुँदा मेसिन थन्क्याएर राखिएको छ ।’
























