खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन
काठमाडौँ । रामेछापको विकास र समृद्धिसँग जोडिएको एक हजार २१६ मेगावाट क्षमताको खिम्ती–ठोसे–शिवालय बृहत् जलाशययुक्त बहुउद्देश्यीय आयोजना अघि बढाउन ऊर्जा मन्त्रालयले तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिका सभापति डा.कृष्णहरि बुढाथोकीको पहलमा आयोजना योजनामा समावेश हुनुका साथै यसको अध्ययन, अनुसन्धान, वातावरणीय पक्षको विश्लेषण तथा प्रारम्भिक प्रक्रिया अघि बढाउन उक्त बजेट विनियोजन गरिएको हो ।
आयोजनालाई शीघ्र अघि बढाउने विषयमा शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठसंग छलफल गर्नुभएको छ ।
छलफलका क्रममा उहाँले विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्दै अध्ययन तथा अनुसन्धान, वातावरणीय प्रभाव मूल्याङ्कन र सरोकारवालासँग आवश्यक छलफल तथा अन्तरक्रियाका कार्यक्रमलाई तीव्रता दिन आग्रह गर्नुभएको छ ।
उहाँले आयोजना अघि बढाउन मन्त्रालयबाट आवश्यक पहल र सहजीकरण गर्न मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको थियो ।
प्रस्तावित आयोजना विद्युत् उत्पादनमा मात्र सीमित नभई सिँचाइ, खानेपानी, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक गतिविधिको विस्तारका दृष्टिले महत्वपूर्ण मानिएको छ ।
आयोजना कार्यान्वयनमा आउन सकिएमा रामेछापको आर्थिक तथा सामाजिक विकासमा योगदान पुग्नुका साथै मुलुकको ऊर्जा उत्पादन, लगानी विस्तार र राष्ट्रिय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
सभापति डा बुढाथोकीले आयोजनालाई अध्ययनको चरणबाट कार्यान्वयनको चरणसम्म पुर्याउन निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।























