stcnepal long ad
ime life insurance
national life
global ime bank long

मनाङवासीको गुनासो– ‘स्वर्गको टुक्रा हेर्न यसपालि कोही आएन’

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

मनाङ । नेपालको मुस्ताङ र मनाङलाई हिमाल पारिका जिल्ला भनेर चिनिन्छ । मनाङ पुगेपछि जो कोहीलाई पनि लाग्छ– मनाङ एक छुट्टै संसार हो । मानिसले आफूलाई त्यहाँ चारैतिर हिमालले घेरिएको र हिमालभित्र पाउँदा लाग्छ– यदि कतै स्वर्ग छ भने त्यो यही हो । प्राकृतिक सौन्दर्यताले भरिएको गण्डकी प्रदेशको यस मनाङ जिल्लाका आकर्षण त धेरै छन् तर मुख्य हुन्– तिलिचो ताल, थोराङ्ला पास, आइस लेक र अन्नपूर्ण पदमार्ग ।

त्यसो त नेसोकुन्ड पास, गंगापूर्ण ताल, तारे गुम्बा, भ्राका गुम्बा, पोचो गुम्बा र मिलारेपा गुफा पनि यहाँका आकर्षक पर्यटकीय गन्तव्य हुन् । लमजुङ जिल्लाको बेंसीशहरबाट मनाङको ताल, धारापानी, चामे हुँदै माथिल्लो मनाङको खाङ्सार र विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल पुग्न सकिन्छ ।

त्यहाँसम्म पुग्दा मनाङलाई हिमालको घेराभित्र रहेको जिल्ला भन्न मन लाग्छ । मनाङको सीमा शुरु हुने स्थानलाई तालगाउँ भनिन्छ । खोत्रो, धारापानी, बगरछाप, चामे, हुम्डे, भ्राका, मनाङ, खाङ्सारलगायतका स्थान यो जिल्लाको मुख्य बजार क्षेत्र हुन् ।

मनाङका प्रमुख पर्यटकीय गन्तव्य

हुनत यहँका सबै स्थान पर्यटकका लागि महत्वपूर्ण छँदैछन् तर पनि प्रमुख आकर्षण केन्द्रका रुपमा रहेका स्थानहरु भने विश्वमै प्रख्यात छन् । तीमध्ये विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो ताल यहाँको आकर्षण हो । समुद्री सतहबाट चार हजार ९१९ मिटर उचाइमा यो ताल छ ।

त्यस्तै पाँच हजार ४१६ मिटर उचाइमा रहेको थोरङ्ला पास, तिलिचो ताल हुँदै मुस्ताङ ठिनी गाउँ निस्कने नेसोकुन्ड पास, तीन हजार ५४० मिटर उचाइमा रहेको गंगापूर्ण ताल, चार हजार ६०० मिटरमा रहेको आइस लेक, तारे गुम्बा, भ्राका गुम्बा, पोचो गुम्बा र मिलारेपा केभ मनाङ ङिस्याङ गाउँपालिकामा रहेका छन् ।

त्यस्तै फु गुम्बा, काङ्ला पास, जुलुफरेष्ट, चुलुपिक, तिब्बती खम्पाहरुले बसोबास गरेका भवनका अवशेष नार्पा भूमि गाउँपालिकामा पर्दछन् । मनाङको सदरमुकाम रहेको चामे गाउँपालिकामा प्राकृतिक तातोपानी कुण्ड, लमजुङ हिमालको बेसक्याम्प, पछिल्लो समयमा लमजुङ हिमालको फेदीमा रहेको कजिन सारा लेक पनि पर्यटकको रोजाइमा पर्दै आएको छ ।
मनाङ, लमजुङ र गोरखासँग जोडिएको नासो गाउँपालिकाअन्तर्गत नेपालकै अग्लो ताम्राङ झोलुङ्गे पुल पानीबाट माथि ४१२ मिटर उचाइ र १६५ मिटर लामो छ । ऐतिहासिक नुन् व्यापारिक केन्द्रको रुपमा परिचित तिल्चे गाउँ पाँच हजार १६ मिटर उचाइमा रहेको लार्के पास, मनास्लु पदमार्ग, पोङ्कर ताल, ड्रोना ताल यहाँका आकर्षक गन्तव्य हुन् ।

पछिल्लो समयमा यस गाउँपालिकामा सञ्चालनमा आएका ताचै घरबास र ओडार गाउँ घरबासले पनि पर्यटकको मन जित्दै आएको ताचै घरबासका अध्यक्ष याद घलेले बताए ।

कोरोना कहरले रोक्यो पर्यटक

मनाङमा वर्षेनी हजारौँ पर्यटक भित्रने गरेका छन् । सन् २०२० को शुरुआतमा मात्रै करिब १२ हजार आन्तरिक तथा बाह्य पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका बाबुलाल तिरुवाले जानकारी दिए । कोरोना महामारीले मनाङको पर्यटन व्यवसायमा पनि ठूलो मारमा परेको छ ।

सन् २०२० लाई नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष’ घोषणसँगै आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएको अवस्थामा महामारीले यस ठाउँको पर्यटन व्यवसायले गति लिन सकेन ।

यस ठाउँमा सन् २०१८ मा ३० हजार विदेशी पर्यटक भित्रिएका थिए भने सन् २०१९मा २९ हजार पर्यटक मनाङ आएका अन्नपुर्ण संरक्षण क्षेत्र मनाङले जनाएको छ ।

सन् २०१८ को तुलनामा सन् २०१९ मा बाढीपहिरो, हिमपात र डेङ्गु रोगले प्रभाव परेको पर्यटन व्यवसायीको भनाई छ । त्यस्तै अहिले सन् २०२० को सुरुवातमा दैनिक १०० देखि १५० जना विदेशी पर्यटकको आवगमन हुँदै गर्दा कोभिड १९को महामारीपछि भने आवगमन पूर्णरुपमा ठप्प भएको छ ।

तथ्याङ्कअनुसार कोभिड– १९ को महामारीले बन्दाबन्दी हुनुभन्दाअघिको समयमा एक दिनमा ३०५ जनाभन्दा बढी विदेशी पर्यटक मनाङ भित्रिएका थिए । तिलिचो ताल, थोरङ्ला पास, आइस लेक, अन्नपूर्ण पदमार्गको यात्रा गर्न विदेशी मात्रै नभएर स्वदेशी पर्यटकसमेत उल्लेख्यरुपमा आउने गरेका छन् ।

साउन, भदौदेखि मङ्सिरसम्म मनाङमा बाह्य तथा आन्तरिक पर्यटकको भीड हुन्छ । प्रमुख व्यवसाय पर्यटन त्यसपछि पशुपालन र कृषि यहाँको मुख्य पेशा रहेको चामे गाउँपालिकाका प्रमुख लोकेन्द्रबहादुर घले बताउँछन् ।

पछिल्लो समय मनाङमा सडक विस्तारसँगै अन्नपूर्ण पदमार्ग मासिएको भन्दै सर्वसाधारणको गुनासो बढेको भए पनि पदमार्ग संरक्षणमा स्थानीय सरकार लागिरहेको घलेको भनाइ छ ।

विसं २०६९ मा जिल्लाको सदरमुकाम चामेसम्म सडक पुगेपछि मनाङमा विकासको गति तीव्र रुप बनेको छ । त्यसपछि यहाँ शिक्षा, स्वास्थ्य, विद्युतका कामहरु यहाँ सुचारु छन् । एकमात्र जिल्ला अस्पताललाई विस्तार गर्ने कामको समेत थालनी भएको छ ।

याम अनुसारको परिवर्तन

असार, साउनमा यस क्षेत्र हरियालीसँगै बेमौसमी फूलले रङ्गीचङ्गी डाँडापाखा, फाटभरि फापर, करु, उवा, आलुका फूलले छुट्टै सुन्दर बनाउँछ । हरियाली डाँडामा बादलको घुम्टोभित्र लुकेका हिमालले मौसममा सुधारसँगै घुम्टो उघारेर चियाइरहेको दृश्यले नौलो आनन्द दिन्छ ।

वर्षा सकिएर हिउँदका दिनलाई स्वागत गर्न यहाँका मानिसहरुले आफ्नै वेषभूषामा सजिएर यार्तुङ ९घोडा दौड०, मिथा ९तिर हान्ने खेल० मानेगर्ने, छेटु गर्ने परम्परागत पर्वमार्फत् तयार हुनेछन् । यी परम्परागत पर्वहरुले पनि जिल्लाको छुट्टै पहिचान बोकेको छ । बिहान उठ्नेबित्तिकै मिरमिरे उज्यालोमा सूर्यको मधुर प्रकाशसँगै बिछ्यौनाबाटै सुनौलो हिमालका दृश्यले मोहित बनाउँछ ।

तिलिचो ताल, थोराङ्ला पास, आइस लेक, अन्नपूर्ण पदमार्गको यात्रा गर्न विदेशीमात्रै नभएर स्वदेशी पर्यटकसमेत उल्लेखनीय रुपमा पुग्ने गरेका छन् । जिल्लामा आउने पर्यटकको रोजाइमा पर्ने फापर, आलु र स्याउमा मनाङ आत्मनिर्भर हुन धेरै समय लाग्दैन ।

हुम्डे विमानस्थलमा नियमित उडान हुने हो भने पर्यटकको चाप अझै बढ्ने अध्यक्ष तथा पर्यटन व्यवसायी कर्म छिरिङ गुरुङ बताउँछन् ।

विसं २०६९ मा चामेमा सडक पुगेपछि मनाङमा विकासका काम शुरु भएका छन् । कृषि, पशुपालन, पर्यटनलाई एकैसाथ अघि बढाउने कार्यमा सरकार, स्थानीय तह र सर्वसाधारणबीच सहकार्य हुनसके मनाङ समृद्ध हुन समय लाग्दैन ।

स्थानीय तहका प्रयास

मनाङ जिल्लामा चारवटा स्थानीय तह रहेका छन् । पर्यटन प्रवद्र्धनका लागि सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रबाट उत्तिकै भूमिका खेलेको पाइन्छ । गुरुयोजनासहित पदमार्ग निर्माण नयाँ गन्तव्यको खोजी, घरबासको व्यवस्थापन, सडकको स्तरोन्नति जस्ता विकासका योजनाहरु निर्माणका काम भइरहेका छन् ।

नासो गाउँपालिकाअन्तर्गत सडक र पदमार्गसँगै वैकल्पिक पदमार्ग निर्माण गर्ने योजनासहित अगाडि बढेको छ । ताल, नाचे, ताम्राङ, तिल्चे, ताचै, बगरछाप, ओडार हुँदै घेराङ निस्कने चक्रिय पदमार्ग निर्माण कार्य भइरहेको नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकरी दिए । उनका अनुसार प्राकृतिक तालको संरक्षण र गाउँपालिकामा दुईवटा वडामा घरबास सञ्चालनमा आइसकेको छ ।

त्यस्तै चार हजार १०० मिटर उचाइमा रहेको पोंकर ताल र चार हजार मिटर उचाइमा रहेको ड्रोनातालको नयाँ गन्तव्य निर्माण गरिएको छ । नेपालकै अग्लो झोलुङ्गे पुल ताम्राङ झोलुङगे पुल जुन पानीको सतहबाट ४ १२ मिटर उचाइमा रहेको छ । त्यस्तै तिब्बत र मनाङको ऐतिहासिक नून व्यापारिक केन्द्र निर्माण जस्ता कार्यहरु भएका छन् । यहाँको विकासमा कृषि, पशुपालन, पर्यटन र जडीबुटी महत्वपूर्ण हुन् ।

नयाँ गन्तव्यका रुपमा भरखर मात्र पत्ता लागेको कजिनसारा ताल र यसको संरक्षणमा चामे गाउँपालिका लागेको छ । चामे सदरमुकामदेखि लमजुङ हिमाल बेसक्यामसम्म पदमार्ग र बसोबास गर्नका लागि प्रतिक्षालय निर्माण गरिएको छ ।

नार्पाभूमि गाउँपालिका काङ्ला पास, फु गुम्बा र तिबतर फु गाउँको सिमानासम्म पदमार्ग निर्माण, ऐतिहासिक गुम्बाहरुको संरक्षण गरेको गाउँपालिकाका अध्यक्ष मिङमार लामाले बताए ।

मनाङ ङिस्याङ गाउँपालिका पर्यटकको प्रमुख गन्तव्यका रुपमा चिनिन्छ । यस गाउँपालिकाका अधिकांश गाउँ पर्यटकको निकै चहलपहल हुने गर्दछ । विश्वको सर्वाधिक अग्लो स्थानमा रहेको तिलिचो तालदेखि थेराङ्लापाससमेत यसै गाउँपालिकामा पर्ने हुँदा पदमार्ग निर्माणलाई जोड दिएको पाइन्छ ।

खाङ्सार, तिलिचो ताल, घोडेटो बाटो निर्माण त्यस्तै मनाङ थोराङ्ला भञ्ज्याङ पदमार्ग प्रमुख पदमार्ग रहेको छ । नयाँ गन्तव्यका रुपमा पछिल्लो समयमा खाङ्सार अन्तर्गत मुनलेक र इदम लेक हुँदै तिलिचो ताल निस्कने पदमार्ग सञ्चालन गरिएको छ ।

त्यस्तै ४ हजार ६ सय मिटर उचाइमा रहेको आइसलेक, तीन हजार ५४० मिटरमा रहेको गङ्गापूर्ण ताल संरक्षण गरिएको गाउँपालिका अध्यक्ष कान्छा घलेले बताए ।

हुम्डे विमानस्थल सञ्चालनमा पहल भइरहेको छ । मनाङमा वर्षैभरि पर्यटकको आवागमनमा जोड दिन आइस क्लाइम्बिङ, स्किलगायत साहसी खेलसमेत सञ्चालन गर्ने गरिएको उनले बताए ।

त्यस्तै मनाङ गाउँमा मिलारेपा पार्क स्थापना गरी योगा सेन्टरसमेत निर्माण गरिएको छ । पुराना सांस्कृतिक सम्पदाको संरक्षण तथा पुनर्निर्माण गरिएको छ । तारे गुम्बा, पोचो गुम्बा, भ्राका गुम्बा, ङावल, काङला पासमा भ्युटावर निर्माण पनि पर्यटन क्षेत्रको विकास गरिएको छ ।

जिल्लाका चारवटै स्थानीय तहले एकापसमा समन्वय गरी पदमार्गलाई नै प्राथमिकता दिइएको छ । स्थानीय तहहरुले समन्वय गरी गुरुयोजना निर्माण सहित पदमार्ग निर्माणलाई अगाडि बढाएका छन् । नासो गाउँपालिकाले ताल, नाचे, तिलिचे, ताचै, बगरछाप, ओडार हुँदै घेराङ निस्कने पदमार्ग निर्माण गरिरहेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले जानकारी दिए ।

नयाँ पर्यटकीय स्थानहरुको खोजी गरी प्रवद्र्धनसहित अगाडि बढेको घलेले बताए । तर यहाँका स्थानीय तहदेखि होटल एवं पर्यटन व्यवसायी सबैको अहिले एउटै गुनासो छ– कोरोनाको कहरले हामीलाई झन् बढी मार पा¥यो, विश्वकै प्रमुख आकर्षक पर्यटकीय गन्तव्य रहेको यो स्वर्गको टुक्रा हेर्न यसपाली कोही आएन । रासस

prabhu mahalaxmi
kumari