कागेश्वरीमा ८२ जना काेराेना संक्रमित
काठमाडौ । कागेश्वरी मनोहरा नगरपालिका-७ सयपत्री टोलकी ३० वर्षीया एक महिला सामान्य ज्वरो र हल्का खोकी लागेपछि गत भदौ १ गते मूलपानीस्थित मुलपानी प्राथमिक स्वास्थ्य केन्द्रमा स्वाब दिएर फर्किइन् । तीजको माहोल चलिरहेको थियो ।
एक फाइनान्समा काम गर्ने गरेकी उनको आर्थिक अवस्था राम्रै थियो । स्वास्थ्य अवस्था सुधारोन्मुख रहेकोले स्वाब दिएर आएपछि उनले गत भदौ ४ गते आफ्नै घरमा धुमधामका साथ तीजको दर खाने कार्यक्रम राखिन् र वरपरका ३० भन्दा बढी साथी संगिनी महिलाहरूलाई दर खाने कार्यक्रममा सहभागी भएको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ का वडाध्यक्ष जीवन थापाले जानकारी दिएका छन् ।
कागेश्वरी मनोहरा नगरपालिकाको कन्ट्याक्ट ट्रेसिङ टिमका संयोजक झमप्रसाद आचार्यका अनुसार ती महिलालाई गत भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको रिपोर्टआयो । त्यसपछि उनको सम्पर्क खोज्दै जाने क्रममा परिवारका ५ जना पीसीआर परीक्षणको लागि भन्दै मूलपानी प्राथमिका स्वास्थ्य केन्द्र पुगेका थिए ।
आचार्यका अनुसार उनको क्लोज कन्ट्याक्टमा झण्डै ३० जना महिला रहेका छन् । उनीहरूलाई भाेली भदाै ८ गते सोमबार स्वाब संकलनका लागि बोलाइएको छ ।
यसै वीच कागेश्वरी मनहरा नपामा कोरोना संक्रमित ८२ जना पुगेका छन। त्यस मध्ये वडा नम्बर ९ काे खहरे चोकदेखि वीरेन्द्र चोकसम्म४२ जना रहेका छन्। याे क्षेत्रमा हिजाे शनिवार सिल गरिएकाे छ। नगरपालिकाकी उपप्रमुख विन्दु पुडासैनीका अनुसार अहिले कागेश्वरी मनोहरा नगरपालिकामा ८२ जना कोरोना संक्रमित भेटिएको छ, जसमा १० जना निको भइसकेका छन् ।
उपप्रमुख पुडासैनीका अनुसार आज भदाै ७गते आइतबार मात्रै वडा नं ५ काे थलीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
समुदायस्तरमा कोरोना संक्रमण देखिएको भन्दै नगरपालिकाको वडा नं ९ को केही क्षेत्र सिल गरेकाे छ । उपप्रमुख पुडासैनीका अनुसार ९ नं वडामा पर्ने खहरे चोकदेखि वीरेन्द्र चोकसम्म सिल गरिएको छ । वडा नं ९ मा मात्रै ४२ जनामा कोरोना देखिएको पुडासैनीले जानकारी दिइन् ।
कुल ८२ जना कोरोना संक्रमितमध्ये ७५ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिसकिएको कन्ट्याक्ट ट्रेसिङ समितिका संयोजक आचार्यले जानकारी दिए । अरूको पनि ट्राभल हिस्ट्री खोज्ने क्रम जारी रहेको उनले जानकारी दिएका छन ।



























