शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १८औँ वार्षिक साधारण सभा असोज २८ गते

१६ प्रतिशत लाभांश दिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकले १० प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावसहित १८औँ वार्षिक साधारण सभा बोलाएको हो। बैंकको असोज २ गते बसेको सञ्चालक समितिको ३३९औँ बैठकले  निर्णय गरेको छ।

साधारण सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ।

बैंकले वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत अर्थात् ५० करोड २१ लाख ९७ हजार २७२ रुपैयाँ ९९ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त रकममा नगद लाभांश तथा बोनस शेयरमा लाग्ने कर समेत समावेश गरिएको बैंकले जनाएको छ।

त्यस्तै चुक्ता पुँजीको ६ प्रतिशत अर्थात् ३० करोड १३ लाख १८ हजार ३६३ रुपैयाँ ८० पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव विशेष प्रस्तावका रूपमा सभामा पेस हुनेछ।

बोनस शेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्रको सम्बन्धित व्यवस्था संशोधन गर्ने प्रस्ताव पनि रहेको छ।

साधारण सभामा आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि रहेको छ। साथै सञ्चालकको बैठक भत्ता तथा अन्य सुविधा वृद्धि वा थप गर्ने र सो अनुसार बैंकको नियमावली संशोधन गर्ने प्रस्ताव विशेष प्रस्तावका रूपमा राखिएको छ।

नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावली संशोधनका विषयमा कुनै फेरबदल वा निर्देशन आएमा आवश्यक संशोधन गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार दिने प्रस्ताव समेत साधारण सभामा पेस हुनेछ।

साधारण सभा प्रयोजनका लागि बैंकको शेयरधनी दर्ता किताब असोज १३ गते बन्द रहनेछ। असोज १२ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम शेयरधनीले मात्र साधारण सभामा सहभागी भई मतदान गर्न तथा प्रस्तावित बोनस शेयर र नगद लाभांश प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

साधारण सभा असोज २८ गते बुधबार बिहान ११ः३० बजे बुटवल, रुपन्देहीस्थित होटल सेफ्रन सि.के. प्रालि. (हायात प्लेस) मा हुने बैंकले जनाएको छ ।

IME Lifesidebar
kumari