stcnepal long ad
global ime bank long

सिटिजन लाइफ इन्स्योरेन्स को ‘ट्रिपल बी प्लस’ रेटिङ पुनः पुष्टि, दायित्व बहन क्षमता बलियो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वित्तीय दायित्व बहन गर्ने क्षमता तथा समग्र साख मूल्याङ्कनमा निरन्तरता देखिएको छ । इक्रा नेपालले कम्पनीको जारीकर्ता साख मूल्याङ्कन ‘ट्रिपल बी प्लस’ श्रेणीमा पुनः कायम गरेको हो । यस श्रेणीको मूल्याङ्कनले कम्पनीमा समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता बलियो र वित्तीय जोखिम पनि नरहेको जनाउँछ ।

इक्रा नेपालको मूल्याङ्कनअनुसार कम्पनीको व्यवसाय विस्तार, बजार हिस्सा, नवीकरण दर, लगानीको गुणस्तर, पुनर्बिमा व्यवस्था, चुक्ता क्षमता तथा देशव्यापी उपस्थितिले साख मूल्याङ्कनलाई सकारात्मक आधार दिएको छ ।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा कुल बीमाशुल्क आम्दानीका आधारमा करिब २४ प्रतिशतको वृद्धि हासिल गरेको छ । नयाँ जीवन बीमा कम्पनीहरूको तुलनात्मक रूपमा कम आधारबाट व्यवसाय विस्तार भइरहेकाले यस्तो वृद्धि दर उच्च देखिए पनि सिटिजन लाइफले आफ्नो व्यवसायलाई निरन्तर विस्तार गर्दै आएको मूल्याङ्कनमा उल्लेख छ ।

जीवन बीमा क्षेत्रमा कम्पनीको कुल बीमाशुल्क आम्दानीतर्फ करिब ४ दशमलव ६ प्रतिशत र पहिलो वर्षको बीमाशुल्कतर्फ करिब ६ दशमलव २ प्रतिशत बजार हिस्सा रहेको छ । यसले कम्पनीले प्रतिस्पर्धात्मक  जीवन  बीमा बजारमा आफ्नो उल्लेख्य उपस्थिति बनाउन सफल भएको देखाएको छ ।

कम्पनीको व्यवसायमा दीर्घकालीन प्रकृतिको बीमा योजनाको वर्चस्वसमेत कायम रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा कुल बीमाशुल्क आम्दानीको करिब ९१ प्रतिशत हिस्सा यस्ता योजनाबाट आएको छ, जसले कम्पनीको व्यवसायिक आधारलाई स्थिरता प्रदान गरेको मूल्याङ्कन गरिएको छ ।

कम्पनीको बीमा नवीकरण दर पनि सन्तोषजनक रहेको छ । बीमाशुल्कका आधारमा आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ दुवैमा नवीकरण दर करिब ८८ प्रतिशत कायम रहेको छ । यसले विद्यमान बीमितलाई निरन्तर कायम राख्ने कम्पनीको क्षमता राम्रो रहेको संकेत गर्छ ।

कम्पनीको लगानीतर्फ हेर्दा पनि अवस्था तुलनात्मक रूपमा राम्रो रहेको मूल्याङ्कन गरिएको छ । आर्थिक वर्ष २०२५/२६ को मध्य जुलाई २०२६ सम्म सिटिजन लाइफको बीमालेख धितोमा दिइने कर्जाबाहेकको कुल लगानी करिब ३१ अर्ब रुपैयाँ रहेको छ ।

यस लगानीको ठूलो हिस्सा वाणिज्य बैंकहरूमा राखिएका मुद्दती निक्षेप तथा तिनै वर्गका बैंकका ऋणपत्रमा केन्द्रित छ । यी दुई प्रकारका लगानीलाई जोड्दा कम्पनीको कुल लगानीको करिब ७७ प्रतिशत हिस्सा पुगेको छ । यस प्रकारको लगानी संरचनाले कम्पनीको लगानीमा स्थिरता र तुलनात्मक सुरक्षा कायम गर्न सहयोग पुर्‍याएको मूल्याङ्कन छ ।

कम्पनीको पुनर्बीमा व्यवस्था पनि सन्तोषजनक रहेको इक्रा नेपालले जनाएको छ । विशेषगरी ठूलो प्रकृतिका विपद्का घटनाबाट उत्पन्न हुन सक्ने दाबी दायित्व व्यवस्थापनका लागि विपद् जोखिम सम्बन्धी प्रावधानसहितको पुनर्बीमा व्यवस्थाले कम्पनीको दाबी भुक्तानी क्षमता र त्यस्ता असामान्य घटनामा पनि चुक्ता क्षमता कायम राख्न थप भरोसा दिएको छ ।

कम्पनीको चुक्ता तथा जोखिम वहन क्षमता पनि सहज अवस्थामा रहेको छ । मध्य जुलाई २०२५ सम्म कम्पनीको जोखिममा आधारित पुँजी तथा चुक्ता क्षमताको अनुपात १ दशमलव ७३ गुणा रहेको थियो ।

जोखिममा आधारित पुँजी तथा चुक्ता क्षमता संरचना, २०८२ अन्तर्गत तोकिएको न्यूनतम १ दशमलव ३० गुणाको नियामकीय आवश्यकताभन्दा यो स्तर माथि रहेको छ ।

यद्यपि अघिल्लो वर्षको मध्य जुलाईमा रहेको ३ दशमलव ४२ गुणाबाट उक्त अनुपात घटेको भए पनि नियामकीय न्यूनतम सीमाभन्दा माथि रहेकाले कम्पनीको चुक्ता क्षमता अझै सहज अवस्थामा रहेको मूल्याङ्कन गरिएको छ ।

देशका विभिन्न क्षेत्रमा रहेको कम्पनीको विविधीकृत उपस्थिति र बलियो अभिकर्ता सञ्जालले पनि व्यवसाय विस्तारमा सहयोग पुर्‍याएको छ । देशव्यापी पहुँच तथा अभिकर्तामार्फत बीमा सेवा विस्तार गर्ने क्षमताले कम्पनीको व्यवसायिक आधारलाई थप बलियो बनाएको मूल्याङ्कनमा उल्लेख छ ।

नेपालमा बीमा क्षेत्रको पहुँच अझै पर्याप्त विस्तार हुन बाँकी रहेकाले आगामी दिनमा बजार विस्तारको सम्भावना कायम रहेको अवस्थाले पनि कम्पनीका लागि सकारात्मक अवसर सिर्जना गरेको छ ।

सन् २०१७ को अक्टोबरदेखि सञ्चालनमा रहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख प्रवद्र्धकहरूमा प्रदीपजङ्ग पाण्डेको करिब ५.३ प्रतिशत, कान्तिपुर पब्लिकेसन्स प्राइभेट लिमिटेडको करिब ५.२ प्रतिशत र सुमितकुमार अग्रवालको करिब ५.२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

सन् २०२६ को जुलाईको मध्यसम्म कम्पनीमा प्रवद्र्धक र सर्वसाधारणको सेयर स्वामित्व अनुपात ७०ः३० रहेको थियो । सोही समयसम्म कम्पनीले देशभर नयाँ बीमा व्यवसाय प्राप्त गर्न तथा ग्राहकलाई बीमापछिको सेवा दिन करिब १३६ वटा सेवा तथा व्यवसायिक केन्द्र सञ्चालन गरेको छ । कम्पनीसँग करिब ४० हजार २०० जना व्यक्तिगत अभिकर्ता र ५१ जना संस्थागत अभिकर्ता रहेका छन् ।

IME Lifesidebar
kumari