stcnepal long ad
global ime bank long

जग्गा तथा आवास एक्स्पोस् साढे ७७ लाखमै घर, २५ प्रतिशतसम्म छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं ।  असोज १ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी’ आयोजना हुँदैछ।

असोज ४ गतेसम्म सञ्चालन हुने एक्स्पोमा घर तथा जग्गा खरिदकर्तालाई लक्षित गर्दै विभिन्न छुट, सुलभ मूल्य र वित्तीय सुविधाका विकल्प सार्वजनिक गरिने आयोजकले जनाएको छ।

एक्स्पोमा ७७ लाख ५० हजार रुपैयाँदेखि घर तथा जग्गा खरिद गर्न सकिने विकल्प प्रस्तुत गरिनेछ भने जग्गा खरिदमा २५ प्रतिशतसम्म छुट उपलब्ध गराउने अफरसमेत राखिएको छ।

त्यस्तै, ५ हजार १ रुपैयाँमा टोकन बैना गर्न सकिने व्यवस्था गरिएको आयोजकले जनाएको छ। टोकन बैना गरेपछि जग्गा चित्त नबुझेमा रकम फिर्ता हुने व्यवस्था पनि गरिएको छ।

१ करोड ४० लाखसम्ममा दुईतले घर
मध्यम तथा श्रमजीवी वर्गलाई लक्षित गर्दै काठमाडौं नजिकका क्षेत्रमा तीन बेडरुमसहितको दुईतले घर करिब १ करोड ४० लाख रुपैयाँसम्ममा उपलब्ध गराउने अवधारणा एक्स्पोमा प्रस्तुत गरिने भएको छ।

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष दीपक कुँवरका अनुसार विशेषगरी नुवाकोट र रसुवा जिल्लाका नागरिकलाई समेत पायक पर्ने काठमाडौं आसपासका क्षेत्रमा यस्ता आवासीय घर विकास गर्ने योजना अघि सारिएको हो।

उनका अनुसार ठूलो परिमाणमा घर निर्माण गरेर कम नाफामा बिक्री गर्ने अवधारणामार्फत निर्माण लागत घटाउने प्रयास गरिनेछ। ग्रान्डी डेभलपर्सलगायतका कम्पनीमार्फत यस्ता आवासीय घर एक्स्पोमा प्रस्तुत गरिने जानकारी उनले दिएका छन्।

घरजग्गा खरिददेखि निर्माणसम्मको जानकारी
एक्स्पो आयोजना तथा तयारी समितिका संयोजक रोशन भोयद्योका अनुसार ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार घर तथा जग्गा छनोट गर्न सक्नेछन्। घर निर्माण गर्न चाहनेले निर्माणको जिम्मेवारी सम्बन्धित कम्पनीलाई नै दिन सक्ने व्यवस्था पनि गरिएको छ।

त्यसैगरी, घरजग्गा क्षेत्रमा साझेदारीमा लगानी गर्न चाहनेका लागि समेत अवसर उपलब्ध गराइने आयोजकले जनाएको छ।

नेपाल जग्गा तथा आवास विकास महासंघका वरिष्ठ कानुनी सल्लाहकार तथा प्रदर्शनीका सल्लाहकार डा. गोकुल प्रसाद बुर्लाकोटीले घरजग्गाको उच्च मूल्यका कारण मध्यम वर्गीय उपभोक्ताले आफ्नै घर बनाउने सपना पूरा गर्न कठिनाइ भोगिरहेको बताएका छन्।

उनका अनुसार एक्स्पोमा उपभोक्ताले बिक्रीकर्तासँग प्रत्यक्ष संवाद गरी परियोजनाको स्थान, मूल्य, निर्माणको अवस्था, भुक्तानी प्रक्रिया तथा अन्य सर्तबारे जानकारी लिन सक्नेछन्।

बैंक तथा वित्तीय संस्थाबाट आवास कर्जाबारे जानकारी
एक्स्पोमा बैंक तथा वित्तीय संस्थाको समेत सहभागिता रहनेछ। यसबाट सम्भावित घर खरिदकर्ताले आवासीय कर्जा, लगानी तथा वित्तीय व्यवस्थापन सम्बन्धी जानकारी एउटै स्थानबाट लिन सक्ने आयोजकको भनाइ छ।

बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको र ब्याजदर घट्दो क्रममा रहेको अवस्थामा आवास क्षेत्रमा कर्जा प्रवाह बढाउने सम्भावनालाई समेत एक्स्पोले जोड दिएको छ।

निर्माण सामग्री र प्रविधिसमेत प्रदर्शन
घर तथा जग्गासँगै एक्स्पोमा निर्माण सामग्री तथा प्रविधिसम्बन्धी उत्पादन र सेवा पनि प्रदर्शन गरिनेछ। सिमेन्ट, स्टिल, पेन्ट, काठ, सिसा, सेनिटरी सामग्री, विद्युतीय उपकरण, फर्निचर, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, वर्षाको पानी संकलन तथा फोहोर व्यवस्थापनसम्बन्धी प्रविधि प्रदर्शनीमा रहनेछन्।

घर निर्माण गर्नुअघि प्राविधिक जानकारी लिन चाहनेका लागि इन्जिनियर, आर्किटेक्ट तथा निर्माण क्षेत्रका विज्ञबाट परामर्शको व्यवस्था गरिएको छ। भूकम्पप्रतिरोधी घर निर्माण, घरको डिजाइन, संरचनागत सुरक्षा, निर्माण सामग्रीको छनोट तथा लागत व्यवस्थापनबारे समेत जानकारी लिन सकिनेछ।

‘पेपरलेस एक्स्पो’ बनाउने तयारी
यसपटकको प्रदर्शनीलाई प्रविधिमैत्री बनाउने प्रयास गरिएको आयोजकले जनाएको छ। डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक कियोस्क, डिजिटल डिस्प्ले तथा भर्चुअल रियालिटी प्रविधिको प्रयोग गरिनेछ।

कागजी सामग्रीको प्रयोग घटाउँदै एक्स्पोलाई ‘पेपरलेस एक्स्पो’ बनाउने लक्ष्य राखिएको छ। साथै सौर्य ऊर्जा, वर्षाको पानी संकलन, फोहोर व्यवस्थापन तथा ऊर्जा–दक्ष प्रविधिलाई पनि प्राथमिकता दिइनेछ।

स्वास्थ्य शिविरदेखि युवा उद्यमीलाई तालिमसम्म
एक्स्पो अवधिमा स्वास्थ्यसम्बन्धी सामाजिक कार्यक्रमसमेत सञ्चालन हुनेछन्। आयोजकका अनुसार ओम अस्पताल र ग्रान्डी इन्टरनेसनल हस्पिटलको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिनेछ।

त्यस्तै, निर्माण तथा आवास क्षेत्रमा नयाँ व्यवसाय सुरु गर्न चाहने युवा उद्यमीलाई लक्षित गर्दै तालिम तथा व्यावसायिक परामर्शको व्यवस्था गरिएको छ। छनोट भएका नयाँ तथा युवा उद्यमीलाई निःशुल्क तालिम तथा परामर्श उपलब्ध गराउने योजना आयोजकले जनाएको छ।

‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको एक्स्पोको उद्देश्य सुरक्षित, सुव्यवस्थित तथा वैज्ञानिक बस्ती विकासमार्फत दिगो शहरीकरणलाई प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ।

नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा हुने एक्स्पोमा नेपाल चेम्बर अफ कमर्सको सहकार्य रहनेछ।

चेम्बरको ७५औँ हिरक जयन्तीको अवसरसँग समेत एक्स्पोलाई जोडिएको छ। एक्स्पोको व्यवस्थापन सिया इभेन्ट एसोसिएट्स प्रालिले गर्नेछ।

एक्स्पोको टाइटल स्पोन्सर सिजी प्रोपर्टिज/सिजी होल्डिङ्स, पावर्ड बाइ स्पोन्सर एशियन पेन्ट्स, इन्स्योरेन्स पार्टनर प्रभु इन्स्योरेन्स तथा सहयोगी संस्थाका रूपमा स्मार्ट पानी, केबी तथा युएचएस होल्डिङ्स रहेका छन्।

IME Lifesidebar
kumari