stcnepal long ad
global ime bank long

हेमबहादुर मल्ल सम्मानबाट माकाजु र खनाल सम्मानित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका दुई विशिष्ट व्यक्तित्वलाई सोमबार हेमबहादुर मल्ल सम्मान प्रदान गरिएको छ।

नेपाल जन–प्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले हेमबहादुर मल्ल सम्मान २०८१ बाट डा। रामकृष्ण माकाजु श्रेष्ठ र २०८२ बाट पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई सम्मान गर्नुभएको हो। सम्मानसँगै दुवैलाई जनही दुई लाख रुपैयाँ नगद पुरस्कारसमेत प्रदान गरिएको छ।

धुलिखेल अस्पतालको स्थापना तथा सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै स्वास्थ्य सेवा र संस्थागत विकासमा योगदान पुर्‍याएको भन्दै डा. माकाजुलाई सम्मान गरिएको हो।

त्यस्तै, सार्वजनिक प्रशासन, नीति निर्माण, प्रशासनिक सुधार तथा सार्वजनिक सेवाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएको भन्दै पूर्वसचिव खनाललाई सम्मान प्रदान गरिएको हो।

सम्मान प्रदान गर्दै राष्ट्रपति पौडेलले सार्वजनिक सेवा, प्रशासन तथा संस्थागत विकासमा योगदान पुर्‍याउने व्यक्तित्वको सम्मानले नयाँ पुस्तालाई सार्वजनिक सेवाप्रति थप जिम्मेवार र प्रेरित बनाउन सहयोग पुग्ने बताउनुभयो।

नेपाल जन–प्रशासन संघले सम्मानका लागि नेपाल सरकारका पूर्वसचिव तथा संघका पूर्वअध्यक्ष कृष्ण ज्ञवालीको संयोजकत्वमा छनोट समिति गठन गरेको थियो। समितिको सिफारिसका आधारमा दुवै व्यक्तित्वलाई सम्मानका लागि छनोट गरिएको हो।

हेमबहादुर मल्ल सम्मान वि.सं. २०६० देखि सार्वजनिक प्रशासन, व्यवस्थापन, सार्वजनिक वितरण, सार्वजनिक सेवा तथा जनसरोकारका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रदान गरिँदै आएको छ।

साल्ट ट्रेडिङ कर्पोरेशनका तत्कालीन नेतृत्वकर्ता तथा कुशल व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लको योगदानको स्मरणमा यो सम्मान स्थापना गरिएको हो।

यसअघि विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका २१ जना विशिष्ट व्यक्तित्वलाई हेमबहादुर मल्ल सम्मान प्रदान गरिसकिएको नेपाल जन–प्रशासन संघले जनाएको छ।

IME Lifesidebar
kumari