चालु आव सुरु भएको एक महिनामै १० अर्ब ऋण उठाउँदै सरकार
काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएको एक महिना नपुग्दै आन्तरिक ऋण उठाउन प्रक्रिया अघि बढाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १५ वर्षे विकास ऋणपत्रमार्फत एक हजार करोड रुपैयाँ आन्तरिक ऋण उठाउने प्रक्रिया अघि बढाएको हो ।
कार्यालयका अनुसार ‘१५ वर्षे विकास ऋणपत्र-२०९८ साउन २० गते बोलकबोल मार्फत बिक्री गरिनेछ भने साउन २१ गते ऋणपत्र निष्कासन हुनेछ ।
उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था तथा कम्पनीले सहभागिता जनाउन सक्नेछन् । इच्छुक खरिदकर्ताले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको ऋण व्यवस्थापन प्रणाली मार्फत बोलकबोल पेश गर्न सक्ने कार्यालयले जनाएको छ ।
सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ४ खर्ब १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण परिचालन गर्ने भएको छ ।
सरकारले वर्षभरि ट्रेजरी बिलमार्फत १ खर्ब ४ अर्ब रुपैयाँ, विकास ऋणपत्रमार्फत ३ खर्ब रुपैयाँ, नागरिक बचतपत्रमार्फत ५ अर्ब रुपैयाँ तथा वैदेशिक रोजगार बचतपत्रमार्फत १ अर्ब रुपैयाँ उठाउने लक्ष्य राखेको छ ।




















