कागेश्वरी मनोहरा नगरपालिकामा सार्वजनिक यातायात बन्द
काठमाडौ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण कागेश्वरी मनोहरा नगरपालिकामा पनि दिनानुदिन बढ्दै गएको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिकामा आज भदाै २ गते नगरस्तरीय जनस्वास्थ्य आपतकालीन बैठक सम्पन भएको छ ।
उक्त बैठकमा नगर प्रमुख कृष्णहरि थापा ,प्रमुख प्रशासकीय अधिकृत गिरिराज ज्ञावली, नगर प्रवक्ता राजाराम पुडासैनी, स्वास्थ्य शाखा सह संयोजक लक्ष्मी कोइराला, महानगरीय प्रहरी वृत्तका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कार्की , महानगरीय प्रहरी प्रभाग साँखुका कार्यालय प्रमुख प्रहरी निरीक्षक गोबिन्द पन्थी, कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
बैठकमा नगर प्रमुख कृष्णहरि थापाले विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट कागेश्वरी मनोहरा नगरपालिका पनि अछुतो नरहेकोले कोभिडको संक्रमण भएका नगरबासीहरुको उपचारमा नगरपालिका लागि परेको बताएका छन् ।
कोभिडको संक्रमणबाट नगरबासीहरुलाई जोगाउनका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको बताउदै नगर प्रमुख थापाले अनिबार्य रुपमा मास्क लगाउन सबै नगरबासीहरुलाई आग्रह गर्दै नगरभित्र आउने नागरिकहरुलाई अनिवार्य PCR गरेर मात्र नगर प्रवेश गर्ने व्यवस्था गरिएको बताएका छन्।
उनले नगरबासीलाई सरल, सहज र प्रभावकारी रुपले स्वास्थ्य सेवा प्रदान गर्ने कार्यमा नगरपालिकाले हरसंभव प्रयास गरिरहेको पनि बताउदै कोभिडको संक्रमण भएका नगरबासीहरुलाई अस्पताल पुरर्याउने लागि डेडिकेटेड एम्बुलेन्सको व्यवस्था गरिएको जानकारी दिदै नगर प्रमुख थापाले २ वटा CICT टिम बनाएर कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि कार्य गरिरहेको जानकारी गराएका छन्।
कागेश्वरी मनहरा नपामा भदाै २ गते सम्म ६० जना काेराेना संक्रमित भैसकेका छन । त्यसैले नगरपालिकाले भदाै १५ गतेसम्म सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेकाे छ। अत्यावश्यक सेवाका पसल मात्र सञ्चालन गर्न दिने निर्णय गरेकाे छ ।
बैठकमा कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखा सह संयोजक लक्ष्मी कोइरालाले कागेश्वरी मनोहरा नगरपालिकामा हालसम्म ६० जना कोभिडबाट संक्रमित भएको जानकारी गराउदै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन ।
संक्रमित मध्ये केहि अस्पतालमा उपचाररत रहेको र केहीलाई घरमै स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिएको कोइरालाले बैठकलाई जानकारी गराएकी थिइन् ।
उनले कागेश्वरी मनोहरा नगरपालिकामा ५ वटा स्वास्थ्य चौकी, एउटा प्रस्तावित नगर अस्पताल, ३ वटा आधारभूत स्वास्थ्य केन्द्र, २ वटा प्रजनन स्वास्थ्य केन्द्र, ११ वटा गाउँघर क्लिनिक, १९ वटा खोप केन्द्र र १ सय १८ जना महिला स्वास्थ्य स्वयं सेविकाहरु मार्फत् स्वास्थ्य सेवा प्रदान गरिरहेको जानकारी गराएकी थिइन् ।























