‘औद्योगिक विकासका लागि एकद्वार प्रणाली आवश्यक छ’:अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक विकासका एकद्वार प्रणाली आवश्यक भएको बताएका छन्।
‘औद्योगिक वातावरण सुधार: दिगो अर्थतन्त्रको आधार’ भन्ने नारासहित ११औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज विभागमा आयोजना गरेको कार्यक्रममा उनले एकै प्रकारको कामका लागि पनि धेरै प्रकारका सरकारी संरचनाले गर्दा उद्योगी व्यवसायीले झन्झट व्यहोर्नु परेको बताए ।
अध्यक्ष ढकालले भने, “हामी कहाँ एकै प्रकारका काम गर्ने सरकारी संस्था धेरै भए । व्यावसायिक वातावरण सहज र सरल गर्नुपर्नेमा झटिलता र झन्झट थपिँदै गएको छ । यो अवस्थामा एकद्वार प्रणालीलाई प्रभावकारी बनाउँदै अनावश्यक संस्था कम गर्दै जानुपर्दछ ।”
अध्यक्ष ढकालले गत भदौ २३ र २४ को आन्दोलनपछि देशको आर्थिक अवस्था झनै जटिल बन्दै गएको चर्चा गर्दै व्यक्तिगत र लगानीको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताए ।
अध्यक्ष ढकालले नेपालको निर्यात व्यापारको अवस्था सन्तोषजनक नरहेको अवस्थामा निर्यातमा दिइने नगद अनुदानलाई निरन्तरता दिनुपर्ने बताए।
अध्यक्ष ढकालले स्टार्टअप र नवप्रवर्तनलाई प्रोत्साहन गर्न सरकारले कोष स्थापना गरेको कदम सकारात्मक भएको बताउँदै उद्यमशीलताको विकास रोजगारी सिर्जनाको क्षेत्रमा महासंघ सधैँ सहकार्यको लागि तयार रहेको बताए ।





























