यही साता एसईईको नतिजा सार्वजनिक हुने
काठमाडौं । आन्तरिक मूल्यांकनका आधारमा यही साता एसईईको नतिजा सार्वजनिक हुने भएको छ । यस अगाडि राष्ट्रिय परीक्षा बोर्डले साउन १५ भित्रै एसईईको नतिजा प्रकाशित गर्ने जनाएको थियो ।
तर, कोरोना महामारी र बाढी पहिरोका कारण नतिजा प्रकाशित गर्न केही दिन ढिलो हुने बोर्डले जनाएको हो । ७७ वटै जिल्लाबाट विद्यार्थीले प्राप्त गरेको अंकको विवरण प्राप्त भइसकेको बोर्डले जनाएको छ ।
अहिले विद्यार्थीहरुले प्राप्त गरेका अंकहरू सिस्टममा चढाउने काम भइरहेको पनि बोर्डले जनाएको छ । अब अंकलाई ग्रेडमा परिवर्तन गरेर रिजल्ट तयार भएपछि सार्वजनिक गर्ने बोर्डको तयारी रहेको छ ।
प्राविधिक कठिनाई नआएमा २–३ दिन भित्रै नतिजा प्रकाशन गर्न सकिने बोर्डले जनाएको छ । यो वर्ष ४ लाख ८२ हजार परीक्षार्थीले एसईई दिएका छन् ।
कोरोना महामारीका कारण विद्यालयले अन्तिम पटक सञ्चालन गरेको परीक्षा (आन्तरिक मूल्यांकन ) का आधारमा बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो ।





























