सम्पूर्ण विश्वलाई आक्रान्त पारिरहेकाले बकर ईद (इदुल जोहा) पर्व सावधानीका साथ मनाउन आग्रह
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को महामारीले सम्पूर्ण विश्वलाई आक्रान्त पारिरहेकाले बकर ईद (इदुल जोहा) पर्व सावधानीका साथ मनाउन सबै इस्लाम धर्मावलम्बीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गर्नुभएको छ ।
बकर इदका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सबै इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपतिले यस्तो आग्रह गर्नुभएको हो ।
साथै उहाँले सबैको सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
बकर ईद इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व र यसमा सद्भाव एवं शुभेच्छा आदानप्रदान गरेर यो चाड मनाइन्छ । राष्ट्रपतिले सन्देशमा भनिएको छ .
‘बकर ईद पर्वले स्थिरता र दिगो शान्ति सहित सामाजिक, आर्थिक विकासका कार्य मार्फत ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा सङ्कल्प पूरा गर्न मद्दत पुगोस् ।
मुस्लिम समुदायले यस पर्वका दिन सामूहिक रूपमा नमाज पढ्दै एकआपसमा शुभकामना साटासाट गर्ने हुँदा यस परम्पराले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचाराको अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास राष्ट्रपतिले लिनुभएको छ ।





























