stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

पशुपति ग्रामको अवधारणाः एक करोड धार्मिक पर्यटक भित्र्याइने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विश्वभर रहेका करिव एक अर्ब हिन्दू धर्मावलम्बीमध्ये वार्षिक एक प्रतिशत अर्थात् एक करोडलाई पशुपतिनाथको मन्दिर दर्शन गराउने गरी पशुपति क्षेत्रको विस्तृत गुरुयोजना तयार पारिएको छ ।

पशुपति क्षेत्र विकास कोषले तयार पारेको अति महत्वकाङक्षी गुरुयोजना संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री अध्यक्ष हुने सञ्चालक परिषद्ले विसं २०७६ माघ १९ गते पारित गरी मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि पेश गरिएको छ ।

विसं १८६७ मा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहले लालमोहर लगाएर पशुपतिनाथलाई अर्पण गर्नुभएको पशुपति क्षेत्रको २६४ हेक्टर जमिनमा धार्मिक पर्यटन प्रवद्र्धन हुने गरी पूर्वाधार निर्माण गर्ने अवधारणा गुरुयोजनामा समेटिएको कोषले जनाएको छ ।

क्रिश्चियन धर्मावलम्बीको भ्याटिकन सिटी, मुस्लिमको मक्का मदिना, बौद्ध धर्मावलम्बीको लुम्बिनी जस्तै वैदिक सनातन हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा पशुपति क्षेत्रलाई स्थापित गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो ।

कोषका पूर्वसदस्य सचिव एवं गुरुयोजना विज्ञ चेतोनाथ गौतमको संयोजकत्वमा तयार पारिएको गुरुयोजनाको अवधारण र सिद्धान्त सञ्चालक परिषद्बाट पारित भएर संस्कृति मन्त्रालय पुगेसँगै कानून, अर्थलगायत सरोकार भएका मन्त्रालयको स्वीकृति लिई मन्त्रिपरिषद्‍मा पेश गर्ने तयारी भएको जनाइएको छ ।

आगामी ५० वर्षसम्म पशुपति क्षेत्रमा आउने भक्तजनको अनुमान गरी पूर्वाधार निर्माण गर्ने गरी गुरुयोजना बनाइएको उहाँले बताउनुभयो । “पशुपति क्षेत्रमा आउने पर्यटकका सवारी पार्किङका लागि तिलगङ्गा पुलमुनिको उकालोबाट जमिनमुनि पार्किङ स्थल निर्माण गर्ने, तिलगङ्गाबाट चाबहिलसम्मको चक्रपथ अन्यत्र सार्नुपर्ने, यहाँको सडकलाई सम्पदामैत्री सडकका रुपमा विकास गरिनुपर्ने प्रस्ताव गुरुयोजनामा गरेका छौँ”, उहाँले भन्नुभयो ।

कोषले गौशालाबाट रातोपुल हुँदै रुद्रमती किनारै किनार वा कोटेश्वरबाट जडीबुटी हुँदै गोठाटार, जोरपाटी हुँदै चक्रपथ घुमाउन पनि गुरुयोजनामार्फत माग गरेको छ ।

पशुपति क्षेत्रबाट जाने चक्रपथका कारण तिलगङ्गा पुलमुनिको बज्रेश्वरी मन्दिर जीर्ण बनेको छ । तान्त्रिकरुपमा ठूलो महत्वको मन्दिर भएपनि बज्रेश्वरीलाई चक्रपथले समस्यामा पारेको स्थानीयवासी बताउँछन् ।

हाल पशुपति आउने भक्तजन गुह्येश्वरी मन्दिरसमेत नजाने अवस्था छ । पशुपति क्षेत्रका विषयमा विस्तृत सूचनासमेत नभएर भक्तजनले यहाँका दर्शनीयस्थलमा पुग्न नसकेको निष्कर्ष निकाल्दै कोषले हाल महानगरीय प्रहरी वृत्त गौशाला रहेको स्थानमा पर्यटक सूचना केन्द्र स्थापना गर्न प्रस्ताव गरेको छ ।

पशुपतिनाथ मन्दिर रहेको क्षेत्रलाई आकर्षक पर्यटकीयस्थलका रुपमा विकास गर्न पशुपति हिन्दू विश्वविद्यालय, पशुपति गौशाला, पशुपति अस्पताल, पशुपति वृद्धाश्रम जस्ता सामाजिक काम गर्ने संरचनालाई तीन किलोमिटर पर गोठाटारमा रहेको कोषको ५३४ रोपनी क्षेत्रफलमा स्थापना गर्ने सोच अघि सारिएको सदस्य सचिव ढकालले जानकारी दिनुभयो ।

पशुपति क्षेत्रको श्लेषमान्तक वनबाट विश्वरुप क्षेत्रसम्मको जङ्गल माँसिएर कङ्क्रिटको चिहान बनिरहेकामा त्यसलाई समेत कोषले व्यवस्थित गर्ने भएको छ । हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्रमा क्रस राखेर चिहान निर्माण भइरहेकाले यसलाई रोक्न प्रस्ताव गरिएको पूर्वसदस्य सचिव गौतमले बताउनुभयो ।

वाग्मतीको शुद्ध जलले पशुपतिनाथको स्नान गरिँदै आएकामा तीसको दशकदेखि नै नदी प्रदूषित भएपछि पशुपति क्षेत्रमै निर्माण गरिएको इनारबाट हाल स्नान गरिँदै आएको छ ।

नदी शुद्ध बनाई वाग्मतीकै जलबाट भगावान्को स्नान गराउने योजना पनि कोषले अघि सारेको छ । पशुपति क्षेत्रको गुह्येश्वरी नजिकै पोखरी निर्माण गरी हिउँदमा पनि वाग्मतीमा बहाव बढाउन लागिएको छ । यसले पशुपति आउने धार्मिक पर्यटकमा पशुपतिको सौन्दर्यता पुनःस्थापित गर्न सकिने कोषको विश्वास छ । रासस

prabhu mahalaxmi
kumari bank
kumari