गंगालाल अस्पतालको सञ्चालक समिति सदस्यमा डा. राजेन्द्रप्रसाद बराल मनोनित
काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समिति सदस्यमा दुई जना सदस्य मनोनित भएका छन् । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले केन्द्रको सञ्चालक समिति सदस्यमा डा. राजेन्द्रप्रसाद बराल र दीपकराज सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको थियोे ।
सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले कास्कीका डा. बराल र भोजपुरका सापकोटालाई केन्द्र सञ्चालक समिति सदस्यमा मनोनित गरिएको जानकारी दिएका थिए ।
शहीद गंगालाल राष्ट्रिय हृदयरोग अस्पतालको सञ्चालक समिति सदस्यमा रोटरी क्लब अफ दरबारमार्ग का चार्टर प्रेसिडेन्ट रोटरीयन डा. राजेन्द्रप्रसाद बराल र दीपकराज सापकोटा मनोनित हुनु भएकोमा त्यस अस्पताललाई अझै समुन्नत बनाउदै आम सर्वसाधारणको पहुँचमा पुर्याउने र सेवालाई अझै चुस्त र दुरुस्त बनाउने तर्फ नीतिगत निर्णयहरू गर्न सञ्चालक समितिमा अग्रणी भूमिका निभाउने उहाँले व्यक्त गर्नुभयो ।
टाटा मेमोरियल अस्पताल, मुम्वई र मोटीलाल नेहरु मेडिकल कलेज अल्लाहबादमा अध्ययन गर्नुभएका डा. राजेन्द्रप्रसाद बरालले भक्तपुर क्यान्सर अस्पतालमा मेडिकल डाइरेक्टरको रुपमा कार्य गर्नुभएको थियो ।
नेशनल क्यान्सर सेन्टर, सिउल, कोरियामा निरक्षण निर्देशकका रुपमा पनि कार्यरत रहेका उनी साउथ एशियन जर्नल अफ क्यान्सरका प्रकाशनमा रिजनल सम्पादकको रुपमा पनि कार्य गरेका थिए । उनी एशियन नेशनल क्यान्सर सेन्टर एलाइन्समा बोर्ड मेम्बर रहेका छन भने नर्भिक इन्टरनेशनल अस्पताल र ओम अस्पताल एण्ड रिसर्च सोसाइटीमा पनि कार्यरत छन् ।
नेपाल क्यान्सर निवारणको पूर्व उपाध्यक्ष समेत रहनु भएका हाल उहाँ ग्लोबल क्यान्सर प्रिभेन्टीभ फोरमबाट अन्तर्राष्ट्रिय सम्मेलनहरुमा नेपालको प्रतिनिधित्व गरिरहनु भएको छ ।
नेपाल सरकारको तर्फबाट मृत्युञ्जय गोल्ड मेडल प्राप्त बरालले अन्य विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ संस्थाबाट विभिन्न सम्मान तथा उपाधिहरु प्राप्त गरेका छन् ।