फोहर व्यवस्थापनमा लापरवाही गरेको भन्दै बुद्धमाई अस्पताललाई एक लाख जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको भन्दै रु एक लाख जरिवाना गरेको छ ।
उक्त अस्पतालमा २०८० फागुन ११ गते पहिलो पटक अनुगमन गरिएको थियो । त्यस दिन नर्सिङ स्टेशनमा मेडिसिन ट्रली नभएको, भित्री कक्षमा फोहर हाल्ने बाल्टिन नभएको देखिएपछि अनुगमन टोलीले रङ सङ्केत सहितको बाल्टिन फोहर उत्पादन हुने ठाउँमा राख्न अनुरोध गरेको थियो ।
अनुगमनबाट फर्किएपछि हानिकारक फोहर निर्मलीकरण गर्ने प्रणाली स्थापना गर्न पत्राचार गरिएको थियो । पटक–पटक दिएको आग्रहलाई अटेरी गरेपछि चौथोपटक गरिएको अनुगमनका क्रममा रु. एक लाख जरिवाना गराइएको कामपाले जनाएको छ ।
गत भदौ २२ गते अस्पतालमा तेस्रोपटक अनुगमन भएको थियो । सबै फोहर एकै ठाउँमा जम्मा गरिएको अनुगमन टोलीले पाएको थियो ।
अनुगमनका क्रममा फोहर निर्मलीकरण र व्यवस्थापन गर्ने योजनाका विषयमा अस्पताल प्रशासनले योजना दिन सकेन। अनुगमन टोलीले हानिकारक फोहर निर्मलीकरण गरेर सामान्य बनाउन सुधारको मौका दिएर फर्किएको थियो ।
अनुगमन टोली बिहीबार पुनः अस्पताल पुगेको थियो । टोली अस्पताल पुग्दा जम्मा गरेको फोहर खाली भेट्टायो । फोहर थुपारिएको कोठामा वाफ बाहिर उडिरहेको टोलीले भेट्यो । निर्मलीकरणका लागि राखिएका वस्तुमा ताजा अवस्था रङमा भन्दा कुनै परिवर्तन थिएन ।
कामपाले पटकपटक गरेको अनुगमनका क्रममा दिइएको आग्रहलाई बेवास्ता गरेपछि जरिवाना गराएको जनाएको छ । यसभन्दा अघि पनि उक्त अस्पताललाई कामपाले रु १५ हजार जरिवाना गरेको थियो ।




























