अराजकता मच्चाउने “न्यू मिडिया”का गतिविधि तर्फ सचेत रहन आग्रह
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले प्रेस काउन्सिल नेपालको आज अपराह्न अवलोकन भ्रमण गर्नुभएको छ ।
सो अवसरमा उहाँले सूचना प्रविधिको विकास, आविष्कार तथा प्रयोग गर्दै नेपाल डिजिटल यात्रामा अगाडि बढ्दै गरेकाले पहिला मन्त्रालय आफैँ डिजिट लाइज्ड हुनुपर्ने बताउनुभयो ।
सरकार डिजिटल ढाँचामा गइसकेकाले अबको काम कारवाहीमा कागज विहीन प्रविधिको अवलम्बन हुनुपर्नेमा उहाँको जोड थियो ।
अहिले न्यु मिडियाका रूपमा आएका फेसबुक तथा युट्युब लगायत सञ्जालबाट अराजकता मच्चाउने काम पनि भइरहेकाले यस्ता गतिविधि तर्फ सचेत बन्नुपर्ने उहाँले बताउनुभयो ।
“न्यु मिडियाबाट धेरै मानिसको मान, मर्यादामा आघात पुगेको , सामाजिक, राजनीतिक जीवनमा आँच आएको, मुलुक–मुलुकको सम्बन्धमा खलल पुग्ने गतिविधि भइरहेको प्रति समस्त सञ्चार जगत्को ध्यान जानु जरुरी छ”, सरकारका प्रवक्ता डा खतिवडाले भन्नुभयो ।
त्यस्ता मिडियामाथि कारबाहीको काम काउन्सिलको भएकाले अरुको निगरानी गर्ने निकाय आफैँ सजग रहन पनि उहाँले सुझाव दिनुभयो ।
हालको सञ्चारसम्बन्धी कानूनमा के कस्तो सुधार गर्नुपर्ने हो सुझाव दिन मन्त्री डा खतिवडाले आग्रह गर्नुभयो । उजूरी मात्रै गर्ने तर कारबाही नहुने भन्ने गुनासो नआओस् भन्दै उहाँले स्वतन्त्रताभित्र जवाफदेहिता पनि हुने धारणा राख्नुभयो ।
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिलमा पहिले एक हजार सात सय अनलाइन सूचीकरण हुँदा सूचना विभागमा पाँच सय मात्र दर्ता भएको जनाउँदै काउन्सिलमा कानूनी संरक्षणका लागि र विभागमा प्रेस पासका लागि मात्रै दर्ता गराउने गरेको विगतको परिपाटीको चर्चा गर्नुभयो ।
श्रेष्ठले मिडियाबाट आएका सामग्री हेर्ने र उजूरी सुन्ने जिम्मा काउन्सिलको भएको बताउँदै यसबीच भएगरिएका कामकारवाहीका विषयमा जानकारी दिनुभयो ।



























